तपाईँ सुन्दै हुनुहुन्छः

मतदान अगावै सुरक्षा कडाइ, सरोकारवालालाई जिम्मेवार बन्न आयोगको अपिल

काठमाडौँ | आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको निर्वाचन आयोले जनाएको छ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा योजनाको समीक्षा, सुरक्षा अवस्थाको आँकलन तथा आवश्यक मार्गदर्शन र सिफारिसका आधारमा विभिन्न निर्णय गरेको आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो। उक्त निर्णयअनुसार आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाइएको छ।

आचारसंहिता र निषेध अवधि

फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिने निर्णय भएको छ।

जिल्ला आचारसंहिता अनुगमन समितिले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका गतिविधि हुन नदिन निगरानी बढाउने र उल्लंघन भएमा तत्काल कानुनी कारबाही गरी आयोगलाई जानकारी गराउनेछ।

मदिरा बिक्री र सवारी सञ्चालनमा प्रतिबन्ध

मतदानको मितिभन्दा ७ दिन अघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाइनेछ।

त्यस्तै, फागुन २० गते राति १२ः०० बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म अत्यावश्यक सेवाका सवारी (एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मत) र कूटनीतिक नियोगका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाइनेछ।

हवाई उडान र आवागमन

मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने यथावत् सञ्चालन हुनेछन्। टिकट भएका यात्रुले निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गरी विमानस्थलसम्म आवागमन गर्न पाउने व्यवस्था मिलाइनेछ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ अनुसार मतदान मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिनेछ।

मतदानका लागि आवश्यक कागजात

प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ अनुसार मतदाताले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्रमध्ये कुनै एक कागजात साथमा लिएर मतदान केन्द्रमा जानुपर्ने व्यवस्था छ।

सवारी पास वितरण

निर्वाचन आयोगले जारी गरेको सवारीसाधन अनुमति सम्बन्धी कार्यविधि, २०८२ बमोजिम मतदानका दिन सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा पास वितरण इकाई स्थापना गरिनेछ। सो इकाईमा निर्वाचन आयोगका दुई र जिल्ला प्रशासन कार्यालय, काठमाडौँका दुई कर्मचारी खटाइनेछन्।

आयोगले निर्णय कार्यान्वयनका लागि आवश्यक सहजीकरण र समन्वय गर्न सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button