‘कोसीपारीको समृद्धिका लागि जलविद्युत र पर्यटनलाई प्राथमिकता’

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य अमित लामाले कोसीपारीको समृद्धिका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभएको छ ।
नेकपामा एमालेको तर्फबाट काभ्रेपलाञ्चोक क्षेत्र नंं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका केन्द्रीय सदस्य लामाले आज काभ्रेलाञ्चोकको क्षेत्र नं.१ स्थित कोशीपारी क्षेत्रमा मतदाताहरूसँग भेटघाट गर्ने क्रममा कोशीपारीको समृद्धिका लागि दीर्घकालीन योजना आवश्यक छ भन्नुहुँदै आफूले सुनकोसी तेस्रो जलविद्युत आयोजना सुरु गर्न पहल गर्ने बताउनुभयो ।
नेपाल सरकारको बहुप्रतीक्षित उक्त आयोजना यस क्षेत्रको विकाससँग प्रत्यक्ष जोडिएको परियोजना भएकाले शीघ्र कार्यान्वयनमा जोड दिनु आवश्यक रहेको बताउनुहुँदै उहाँले यस आयोजनाले स्थानीय युवालाई रोजगारी सिर्जना, व्यापारिक गतिविधि विस्तार तथा राजस्व वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
परियोजना सुरु भएसँगै दोलालघाटदेखि दोभानटारसम्म जल–पर्यटन प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, खानेपानी तथा सिँचाइ व्यवस्थापन सुधार तथा सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखिने उहाँको भनाई छ।
उहाँले धार्मिक पर्यटन विस्तारका लागि पाथीभरा मन्दिर, चौरीदेउराली मन्दिर, खाँदादेवी मन्दिर र नाग्रेगगर्चेलाई विकासको केन्द्रका रूपमा अघि बढाउने आफ्नो योजना रहेको बताउनुभयो
कोशीपारीको दीर्घकालीन विकासका लागि स्पष्ट मार्गचित्र आफूसँग रहेको बताउनुहुँदै केन्द्रीय सदस्य लामाले आगामी पाँच वर्षभित्र यस क्षेत्रलाई नमुना विकासको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त समेत व्यक्त गर्नुभयो । “कोसीपारी क्षेत्रमा सडक, खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा उल्लेखनीय परिवर्तन हुन सकेन,” उहाँले भन्नुभयो, “म यस भेगमा जनताको आधारभूत विकास निर्माणको बलियो जग बसाल्ने काम गर्छु।” ‘समृद्ध कोशीपारी’ निर्माणका लागि एक पटक एमालेलाई अवसर दिन उहाँले मतदातासँग आग्रह गर्नुभयो।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काभ्रेपलाचोक क्षेत्र नं. १ को कोशीपारी क्षेत्रमा नेकपा (एमाले)ले मतदाता भेटघाट अभियानलाई तीव्र बनाएको छ। केन्द्रीय सदस्य लामाले घरदैलो कार्यक्रममा स्थानीय बासिन्दासँग विकास निर्माण, रोजगारी सिर्जना, पूर्वाधार विस्तार तथा कृषि आधुनिकीकरणका विषयमा छलफल गरिरहनुभएको छ । ।







प्रतिक्रिया राख्नुहोस्