निर्वाचन रिपोर्टिङमा आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड
मकवानपुर । निर्वाचनको समयमा निर्वाचन आचारसंहितासँगै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा मंगलबार हेटौंडा मा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्।
नेपाल पत्रकार महासंघ को आयोजनामा सम्पन्न निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहिता सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले निर्वाचनका बेला जिम्मेवार, सन्तुलित र आचारसंहिताअनुरूपको पत्रकारिताको आवश्यकता औंल्याए।
कार्यक्रममा महासंघकी उपाध्यक्ष नितु पण्डित ले सञ्चारमाध्यमले स्वच्छ, निष्पक्ष र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै निर्वाचन अवधिमा आचारसंहिताको पालना अझ गम्भीरतापूर्वक गर्न आग्रह गर्नुभयो। तथ्यपरक र सन्तुलित सामग्री प्रकाशन–प्रसारणबाट मात्रै सञ्चारमाध्यमको विश्वसनीयता कायम रहने उहाँको भनाइ थियो।
त्यसैगरी मकवानपुरका मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठ ले विगतका निर्वाचनझैँ यसपटक पनि सञ्चारमाध्यमले आचारसंहिताको पालना गर्ने विश्वास व्यक्त गर्नुभयो। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहने उहाँले बताउनुभयो।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी ले मकवानपुरको सञ्चार क्षेत्रले प्रशासनसँग समन्वय गर्दै जिम्मेवार भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो। निर्वाचनका बेला सूचना प्रवाह र तथ्य पुष्टि गर्ने प्रक्रियामा पत्रकार र प्रशासनबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख हरि प्रसाद ढकालले निर्वाचन आचारसंहितासम्बन्धी सहजीकरण गर्दै प्रमुख प्रावधान, प्रचार–प्रसारका सीमाना तथा सञ्चारमाध्यमले ध्यान दिनुपर्ने विषयबारे जानकारी गराउनुभयो।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश का अध्यक्ष कृष्ण सारु मगर को अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय लेखा आयोग सदस्य केसी लामिछाने, बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष हरि हुमागाईं तथा जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी सहित विभिन्न जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो।
सहभागी पत्रकारहरूले निर्वाचनका बेला कुनै पक्षधरता नराखी तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार समाचार सम्प्रेषण गर्नुपर्ने धारणा व्यक्त गरे। निर्वाचन प्रक्रियालाई स्वच्छ र विश्वसनीय बनाउन सञ्चारमाध्यमले आचारसंहिता पालना गर्नु अपरिहार्य रहेको उनीहरूको निष्कर्ष थियो।








प्रतिक्रिया राख्नुहोस्