तपाईँ सुन्दै हुनुहुन्छः

मोटरेवल पुलमाथि झोलुङ्गे पुल: त्रियुगामा अनौठो तर उपयोगी समाधान

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमाथि बनेको मोटरेवल पक्की पुलको भाँचिएको भागमाथि झोलुङ्गे पुल निर्माण गरिएपछि स्थानीय बासिन्दाले लामो समयदेखिको सास्तीबाट आंशिक राहत पाएका छन् । ‘पुलमाथि पुल’ को रूपमा देखिएको यो संरचना अनौठो भए पनि स्थानीयका लागि अत्यन्तै उपयोगी सावित भएको छ  ।

झन्डै डेढ दशकअघि २०६७ सालमा महालक्ष्मी–लोकप्रिय जेभी, कलङ्कीले ९ करोड ७६ लाख रुपैयाँको लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित उक्त पुल निर्माण सुरु गरेको थियो । तर पुल निर्माणको लागत निर्माण कार्य समयमै सम्पन्न हुन नसक्दा लागत बढ्दै ११ करोड २७ लाख रुपैयाँ पुगेको थियो । लामो प्रतीक्षापछि २०७८ सालमा पुल निर्माण सम्पन्न भए पनि सोही वर्ष असारमा आएको बाढीले पुलको दक्षिणी भागमा ठूलो क्षति पुर्‍यायो । बाढीले पुलका २ पिलर र ३ स्ल्याबमा असर पुर्‍याउँदा करिब ८० मिटर भाग पूर्ण रूपमा प्रयोगविहीन बन्न पुगेको थियो ।

यसरी निर्माण सम्पन्न भएको पुल सञ्चालनमा नआउँदै क्षतिग्रस्त बनेपछि स्थानीयवासीले वर्षौँसम्म सास्ती खेप्नु परेको थियो । पुल अलपत्र अवस्थामा रहँदा चौदण्डीगढी नगरपालिका–५, ९ र १० का झन्डै २० हजार स्थानीय प्रत्यक्ष रूपमा प्रभावित भएका थिए ।

स्थानीयका अनुसार पुल नहुँदा शिवाई, सुन्दरपुर र हडिया क्षेत्रका नागरिकलाई बेल्टार बजार तथा पालिका केन्द्रसम्म पुग्न निकै कठिन हुने गरेको थियो । विशेष गरी वर्षायाममा नदी पार गर्न जोखिम मोलेर डुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता थियो वा मधेश प्रदेशको सप्तरी फत्तेपुर हुँदै लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्थ्यो ।

लामो समयसम्म स्थायी समाधान नआएपछि कोशी प्रदेश सरकारले तत्कालका लागि वैकल्पिक उपाय अपनाएको छ । प्रदेश सरकारले ६० लाख रुपैयाँ विनियोजन गरी क्षतिग्रस्त करिब ८० मिटर भागमाथि झोलुङ्गे पुल निर्माण गरेको हो । उक्त झोलुङ्गे पुलबाट हाल मोटरसाइकल र पैदलयात्रीलाई सुरक्षित आवतजावत गर्न मिल्ने व्यवस्था गरिएको छ ।

२ सय ८० मिटर लम्बाइ र साढे ५ मिटर चौडाइ रहेको मूल मोटरेवल पुलमा १२ पिलर र ११ वटा स्ल्याब रहेका थिए । तीमध्ये क्षति पुगेको भागलाई लक्षित गर्दै झोलुङ्गे पुल निर्माण गरिएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले संघीय सरकारले निर्माण गरेको पुल भएकाले सोही संरचनामा प्रत्यक्ष बजेट विनियोजन गर्न कानुनी जटिलता रहेको बताउनुभयो । उहाँले स्थायी मर्मत वा पुनर्निर्माण नहुँदासम्म नागरिकलाई आवतजावतमा सहजता प्रदान गर्न अस्थायी समाधान स्वरूप झोलुङ्गे पुल निर्माण गरिएको जानकारी दिनुभयो । स्थानीय सरकार, प्रदेशका जनप्रतिनिधि र नागरिकको मागअनुसार उक्त कार्य अघि बढाइएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

स्थानीय चौदण्डीगढी–६ का माधव खड्काका अनुसार पुल नहुँदा दैनिक जनजीवन प्रभावित हुने गरेको थियो । “नदी वारपार गर्न निकै जोखिम लिनुपर्थ्यो । अहिले झोलुङ्गे पुल बनेपछि कम्तीमा सहज रूपमा आवतजावत गर्न पाइएको छ,” उहाँले भन्नुभयो  ।

स्थानीयवासीहरूले ‘पुलमाथि पुल’ निर्माणलाई अनौठो भए पनि व्यावहारिक समाधानको रूपमा लिएका छन् । उनीहरूका अनुसार पूर्ण रूपमा मोटरेवल पुल सञ्चालनमा नआएसम्मका लागि यो व्यवस्था निकै उपयोगी बनेको छ ।

यद्यपि, दीर्घकालीन समाधानका लागि भने क्षतिग्रस्त मोटरेवल पुलको मर्मत तथा पुनर्निर्माण अपरिहार्य देखिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button