तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका सबै सीमा नाका तीन दिन बन्द हुने

बाँके। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका बाँके जिल्लामा फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सम्पूर्ण सीमा नाका बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएको हो ।

फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अत्यावश्यक सेवाबाहेक सबै सवारीसाधन सञ्चालनमा रोक लगाइने छ। एम्बुलेन्स, दमकल, दूरसञ्चार, शववाहन, विद्युत् सेवाका सवारीसाधन तथा निर्वाचन आयोग बाट सिफारिस प्राप्त कूटनीतिक नियोगका सवारीसाधन र अनुमति प्राप्त गाडी मात्र सञ्चालनमा रहने जनाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले निर्वाचन प्रचारप्रसारका क्रममा भारतीय सवारीसाधनको प्रवेश नियन्त्रण गर्न भारतीय सुरक्षा निकायसँग समेत समन्वय र सहयोग माग गरिएको जानकारी दिनुभयो ।

सुरक्षा तथा प्रशासनिक निकायको संयुक्त बैठकले सीमा क्षेत्रमा संयुक्त गस्तीलाई थप सुदृढ गर्ने निर्णय गरेको छ। अवैध प्रवेश, लागुऔषध ओसारपसार, मानव बेचबिखन, नक्कली मुद्रा कारोबार, हातहतियार तथा अवैध नगद तस्करीजस्ता गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकाय प्रतिबद्ध रहेको प्रशासनले जनाएको छ।

निर्वाचन सुरक्षालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन गरिसकिएको र शान्तिपूर्ण, मर्यादित तथा व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गराउन प्रशासन दृढ रहेको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले  बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button