तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनका लागि नेपाल भारतको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा

oplus_0

जनकपुरधाम । धनुषामा निर्वाचन आचार संहिता विपरितको १ लाख ५० हजार भन्दा बढी सामाग्रीहरू नियन्त्रणमा लिएको आचार संहिता अनुगमन समितिले जनाएको छ । 

प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशले आज जनकपुरधाममा क्रियाशील पत्रकारहरूसँग प्रतिनिधि सभा निर्वाचन २०८२ का विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी दिइएको हो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले निर्वाचन आचार संहिता उल्लङ्घन हुने ती सामाग्रीहरू धनुषा जिल्लाको चार वटै निर्वाचन क्षेत्रबाट नियन्त्रणमा लिइएको जानकारी दिनु भयो । निर्वाचन आचार संहिता सहितका विषयमा लिखित तथा मौखिक गरेर ३१ वटा उजुरी परेकोमा २६ को समाधान गर्ने काम भएको छ भने केही निर्वाचन आयोगमा लेखि पठाउने काम भएको प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिनुभयो । 

निर्वाचनको दृष्टिकोणले संवेदनशील रहेका नेपाल भारतको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउनुका साथै भारतबाट आउनेलाई विभिन्न अस्थायी चेकपोष्ट खडा गरेर सुरक्षा चेक जाँच गर्ने काम भइरहेको छ । यसका साथै सीमा नाकामा दुवै देशका सुरक्षाकर्मीले सुरक्षा निगरानी बढाउने काम भएको छ । 

धनुषाका नेपाल भारतसँग सिमाना जोडिएका १ सय ९४ मतदान केन्द्र धनुषामा अति संवेदनशील रहेको छ भने संवेदनशील मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा बनाउने गरि सुरक्षाकर्मीहरू परिचालन गर्ने भएको छ । धनुषाको कुनै पनि मतदान केन्द्रमा केही मिनटमा नै सुरक्षाकर्मी परिचालन हुने गरि सुरक्षा प्रबन्ध मिलाउने काम भएको प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिनु भयो । 

प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका कार्यालय प्रमुख रोम बहादुर महतले निर्वाचनका लागि करिब करिब सबै तयारी पुरा हुनुका साथै सबै निर्वाचन क्षेत्रमा मतपत्र नेपाली सेनाले पुर्‍याउने काम गरेको जानकारी दिनु भयो । अहिले निर्वाचन सामाग्रीहरू मिलाउने काम भइरहेको पनि उहाँले जानकारी दिनु भयो । 

धनुषामा ३ सय २३ मतदान स्थलमा ६ सय ४५ मतदान केन्द्र रहनुका साथै ३ हजार ५ सय ७८ कर्मचारी निर्वाचनका लागि परिचालन गर्ने काम भएको प्रदेश निर्वाचन अधिकारी महतले पत्रकार अन्तरक्रियामा जानकारी दिनु भयो ।

अन्तरक्रिया कार्यक्रममा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचार संहिता उल्लङ्घन अनुगमन अधिकृत कृष्ण गैह्रेले जानकारी दिनु भयो । अन्तरक्रिया कार्यक्रममा पत्रकारहरूले विभिन्न विषयमा जिज्ञासा राख्नु भएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button