तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घर्षबाट सशक्तीकरणतर्फ: रौतहटकी अमृता चौधरीको यात्रा

रौतहट। रौतहटको वृन्दावन नगरपालिका वडा न–१, रमौली बैरियाकी २५ बर्सिया अमृता कुमारी चौधरी सङ्घर्ष र आत्मविश्वासको उदाहरण बन्नुभएको छ । 

पाँच सदस्यीय सानो परिवारमा रहनुभएकी अमृता आफ्ना छोरा अनमोल चौधरी र छोरी निक्की चौधरीको उज्ज्वल भविष्यका लागि दिनरात मेहनत गरिरहनुभएको छ ।

घर घडेरी बाहेक अन्य उल्लेखनीय सम्पत्ति नभएको परिवारमा श्रीमान् जलचन्द्र चौधरी श्रम गरेर परिवार धानिरहनुभएको छ । ६० बर्सिया वृद्ध सासु बसमतिया देवी चौधरीको हेरचाह, बालबालिकाको पढाइ र घर खर्चको व्यवस्थापनको जिम्मेवारी अमृताकै काँधमा रहेको छ । गाउँको बुहारी भएर अरूको खेतमा श्रम गर्न जाँदा उहाँले धेरै आलोचना र टीकाटिप्पणीको सामना गर्नुपरेको बताउनुभयो ।

“पहिले गाउँमा काम गर्न जाँदा धेरै कुरा काटिन्थ्यो । मन दुख्थ्यो, तर हार मानेकी थिइनँ,” उहाँले भन्नुभयो, “श्रमलाई नै आफ्नो शक्ति बनाउने निर्णय गरेकी थिएँ ।”

अहिले उहाँ आफ्नै घरमा १५ वटा बाख्रा पालेर आत्मनिर्भर बन्ने बाटोमा अघि बढिरहनुभएको छ । निरन्तर सङ्घर्षकाबीच अमृताको जीवनमा पछिल्लो समय महत्त्वपूर्ण मोड आएको छ । अक्सफाम र कोइकाको आर्थिक सहयोगमा आरडिसी नेपालद्वारा सञ्चालित ‘इम्पावरिङ हर’ परियोजनामा आबद्ध भएपछि उहाँको सोच, आत्मविश्वास र दैनिकीमा उल्लेखनीय परिवर्तन आएको छ ।

महिला सशक्तीकरणमा केन्द्रित उक्त परियोजनाले आफूलाई आफ्नो क्षमता चिन्ने अवसर दिएको उहाँ बताउनुहुन्छ । “पहिलेदेखि केही गर्ने चाहना थियो, तर बाटो देखाउने कोही हुनुहुन्नथ्यो । परियोजनामा जोडिएपछि नयाँ ऊर्जा पलाएको छ,” उहाँले भन्नुभयो, “साथ र अवसर पाए अझै धेरै गरेर देखाउन सक्छु ।”

यसै सशक्तीकरणको परिणामस्वरूप अमृताले म्यादी प्रहरीमा आवेदन दिनुभएको थियो । गाउँकै बुहारी भएर म्यादी प्रहरीमा नाम निकालेपछि उहाँ गाउँमा चर्चाको विषय बन्नुभएको छ । मधेसमा परम्परागत रूपमा घुम्टो प्रथामा बस्ने बुहारीका लागि यस्तो भूमिकामा देखिनु सामान्य विषय होइन ।

“निर्वाचन प्रहरीमा फर्म भर्दा व्यापक टीकाटिप्पणी भएको थियो,” उहाँले स्मरण गर्नुभयो, “तर भर्ना भएपछि पहिले आलोचना गर्नेहरू नै अब खुल्यो भने म पनि भर्छु भन्दै आउनुहुन्छ ।”

उहाँका अनुसार मधेसमा इज्जत र प्रतिष्ठालाई विशेष महत्त्व दिइने सामाजिक परिवेशमा महिलाले घरबाहिर निस्केर जिम्मेवारी लिनु चुनौतीपूर्ण विषय मानिन्छ । तर अहिले उहाँको साहस र आत्मविश्वासको प्रशंसा हुन थालेको छ ।

अमृता कुमारी चौधरीको जीवन कथा केवल एक महिलाको व्यक्तिगत सङ्घर्षको कथा मात्र होइन । सही साथ, अवसर र मार्गदर्शन पाए ग्रामीण महिलासमेत समाज परिवर्तनको अगुवा बन्न सक्छन् भन्ने सशक्त सन्देश उहाँको यात्राले दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button