मुगुमा मतदान सामग्रीसहित निर्वाचन टोली शनिबारदेखि मतदान केन्द्रतर्फ खटिँदै
मुगु । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्रीसहित निर्वाचन टोली शनिबारदेखि मतदान केन्द्रतर्फ खटिन सुरु गरेको छ ।

जिल्लाका चार वटै स्थानीय तहमा गरी कुल ७० वटा मतदान केन्द्र मध्ये ६९ जना मतदान अधिकृत खटाइएका छन् भने छायाँनाथ रारा नगरपालिका स्थित श्री महाकाली माध्यमिक विद्यालयमा रहेको १ वटा अस्थायी मतदान केन्द्रका लागी सहायक मतदान अधिकृत सहित ३ जना खटाइएको छ । यसरी सहायक मतदान अधिकृत ७० जना र अन्य सहायक कर्मचारी तथा सहयोगीसहित कुल ४१७ जना कर्मचारी परिचालन गरिएको सहायक निर्वाचन अधिकृत तथा सूचना अधिकारी प्रेमराज खनियाँले जानकारी दिनुभयो ।
जिल्लाभर १ वटा अस्थायी मतदान केन्द्रसहित ७० वटा मतदान केन्द्र र ६७ वटा मतदान स्थल कायम गरिएको छ । ती केन्द्रमार्फत कुल ३६ हजार ३१ जना मतदाताले मतदान गर्नेछन् ।
निर्वाचन सामग्री वितरण कार्य शुक्रबारदेखि सुरु भइसकेको र शनिबार खतेड र सोरू गाउँपालिकामा खटिएका निर्वाचन टोली सामग्रीसहित सम्बन्धित मतदान केन्द्रतर्फ प्रस्थान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी कमलप्रसाद अधिकारीका अनुसार निर्वाचनका लागि आवश्यक जम्मा ४९ प्रकारका सामग्रीमध्ये मतपत्रसहित १२ प्रकारका सामग्री केन्द्रबाट प्राप्त भएको छ भने बाँकी ३७ प्रकारका सामग्री जिल्ला स्तरमै खरिद गरिएको हो ।
निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षा निकायसँग समन्वय गरी टोली परिचालन गरिएको पनि पनि सहायक निर्वाचन अधिकृत खनियाँले जानकारी दिनुभयो । मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुनसमेत आग्रह गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्