तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा पत्रकारसँग आचारसंहिता र रिपोर्टिङबारे अन्तरक्रिया

इलाम । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय इलामले सञ्चारकर्मीहरूसँग निर्वाचन आचारसंहिता सम्बन्धी छलफल गरेको छ। 

कार्यक्रममा निर्वाचनका बेला हुन सक्ने आचारसंहिता उल्लङ्घन तथा सञ्चारकर्मीहरूले गर्ने रिपोर्टिङका विषयमा समेत चर्चा गरिएको थियो। छलफलका क्रममा सञ्चारकर्मीहरूले निर्वाचनको दिन र मतगणनाको समयमा सहज रूपमा समाचार सङ्कलन गर्न पाउने वातावरण मिलाइदिन आग्रह गरेका थिए।

नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष भीम चापागाईँले अघिल्ला निर्वाचनका अनुभवलाई ध्यानमा राख्दै यस पटक खटाइने कर्मचारी र सुरक्षाकर्मीलाई तालिमकै क्रममा सञ्चारकर्मीलाई सहजीकरण गर्ने विषय समेट्न सुझाव दिन आग्रह गर्नुभयो।

महासङ्घ इलाम शाखाका पूर्व सभापति सोम सुसेली र पूर्व अध्यक्ष सटेन्द्र जबेगुले निर्वाचनको दिन तथा मतगणनाका समयमा पत्रकारहरूका लागि जिल्ला प्रशासन कार्यालयमार्फत पासको व्यवस्था गर्न माग गर्नुभयो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सञ्चारकर्मीलाई सहज ढङ्गले काम गर्ने वातावरण मिलाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रोशन गजुरेल, जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँल तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button