तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय लिग : एफपीएफद्वारा नव जनजागृति युवा क्लब पराजित

काठमाडौँ । विभागीय टोली एफपीएफले राष्ट्रिय लिगमा नव जनजागृति युवा क्लबसँग सहज जित निकालेको छ ।

सादोबाटोस्थित एन्फा मैदानमा आइतबार सम्पन्न खेलमा एपीएफले ४–१ गोलको जित हासिल गरेको हो । लिगमा जनजागृतिको लगातार छैटौँ हार हो भने एपिएफको पाँचौँ जित हो ।

यो जितसँगै एपीएफले ६ खेल खेल्दै १६ अंक जोडेको छ । जनजागृति अङ्कविहीन बन्दै तालिकाको पुच्छरमा छ । एपीएफले सुरुआतदेखि नै आक्रमण खेलेको थियो । खेलको आठौँ मिनेटमा एपीएफका प्रदीप तामाङको सर्टमा मणिकुमार लामाले प्रहार गरेको गोलले लक्ष्य लिन सकेन।

त्यस्तै, २०औँ मिनेटमा एपीएफका युवराज थापाले दिएको पासलाई बुद्धिमान राईले गोल गर्न सकेनन् । २९ औँ मिनेटमा निश्चल थापाले गोल गर्दै जनजागृतिलाई सुरुआती अग्रता दिलाए । तर, जनजागृतिको अग्रता लामो समय टिक्न सकेन ।

४३औँ मिनेटमा कप्तान हरि कार्कीले उत्कृष्ट गोल गर्दै एफपीएफलाई १–१ को बराबरीमा ल्याए । ४६औँ मिनेटमा युवराजको गोलमा एपीएफ २–१ ले अघि रह्यो ।

५९औँ मिनेटमा समिराज थोकरले गोल गर्दै एपीएफ ३–१ को स्थिति ल्याए । यसको तीन मिनेटपछि अनिश घर्ती क्षेत्रीले गोल गर्दै एपीएफलाई सहज जित दिलाए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button