रेडियो नेपालद्वारा आयोजित समावेशी प्रसार सामग्री उत्पादन सम्बन्धी तालिम सम्पन्न
बाँके। सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालले लुम्बिनी प्रदेशको कोहलपुरमा आयोजना गरेको दुई दिने “समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण” सम्बन्धी तालिम शुक्रवार सम्पन्न भएको छ।

बिहीबार आयोजित उद्घाटन कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा। महेन्द्र विष्टले तालिमको शुभारम्भ गर्दै समावेशी सञ्चार आजको आवश्यकता भएको उल्लेख गर्नुभयो। विविध भाषा, संस्कृति र समुदायको प्रतिनिधित्व हुने सामग्री उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो।
तालिममा रेडियो नेपालका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश प्रसारण कार्यालयमा विभिन्न भाषामा कार्यरत जनशक्ति तथा नेपाल टेलिभिजन कोहलपुरका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रममा रेडियो नेपालका उपनिर्देशक सुरेन्द्र यादव र जनार्दन बिष्ट, साथै रेडियो नेपाल कर्णालीका प्रमुख विजय बर्मा लगायतले सहजीकरण गर्नुभएको थियो । सहभागीहरूलाई समावेशी सामग्री उत्पादनका सिद्धान्त, विविधता संवेदनशीलता, समुदाय–केन्द्रित समाचार लेखन र प्रभावकारी प्रसारण अभ्यासबारे प्रशिक्षण दिइएको थियो ।
रेडियो नेपालका उपनिर्देशक जनार्दन बिष्टले समावेशी सामग्री उत्पादनसँगै आसन्न निर्वाचनमा निष्पक्ष र सन्तुलित रिपोर्टिङ कसरी गर्ने भन्ने विषयमा विशेष सहजीकरण गर्नुभयो। उहाँले निर्वाचन सफल बनाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै आचारसंहिता पालन र तथ्यमा आधारित समाचार तयार गर्न आग्रह गर्नुभयो।
दुई दिनसम्म चलेको तालिममा २५ जनाको सहभागिता रहेको थियो। सहभागीहरूले तालिमले व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै समावेशी र उत्तरदायी प्रसारणतर्फ प्रेरित गरेको उल्लेख गरेका थिए ।







प्रतिक्रिया राख्नुहोस्