तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीका सबै वडामा मतदाता शिक्षा कार्यक्रम सुरु

बैतडी।  बैतडीका सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन सुरु भएको छ । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै यहाँका ८४ ओटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको हो ।

बदर मतको सङ्ख्या कम गर्न र निर्वाचनमा धेरै मतदाताको सहभागिता गराउन आगामी आइतबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु भएको निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनुभयो । 

जिल्लाका ८४ ओटै वडामा १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो । सही तरीकाले मतदान गर्ने विषयमा मतदाता शिक्षा स्वयंसेवकहरूले मतदातालाई उनीहरूकै घरदैलोमा पुगेर जानकारी गराउने निर्वाचन कार्यालय बैतडीका प्रमुख भारतीले बताउनुभयो । यसका लागि ८४ जना मतदाता शिक्षा स्वयंसेवक खटिएको निर्वाचन कार्यालयले जनाएको छ । 

बदर मतको सङ्ख्या घटाउनका लागि मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विशेष गरी पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यवहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गरिने बताइएको छ । 

मतदाता शिक्षा कार्यक्रम अन्तर्गत मतपत्रमा सही चिन्ह कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी विषयमा जानकारी दिइनेछ । 

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीमा ४ हजार ९३२ मत बदर गएका थिए । 

जिल्लामा १२९ मतदानस्थलमा २१४ मतदान केन्द्र रहेका छन् भने एक लाख ५६ हजार ३७२ जना मतदाता छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको यहाँ ११ जना चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button