नेपालगन्जबाट सुरु भयो ‘टुर डे’ ठाकुरद्वाराको आठौँ संस्करण
नेपालगन्ज। पश्चिम नेपालका पर्यटकीय स्थलहरूको प्रचारप्रसारका लागि ‘टुर डे’ ठाकुरद्वारा को आठौँ संस्करण आजदेखि सुरु भएको छ ।

नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा ‘टुर डे’ ठाकुरद्वाराको आठौँ संस्करण सुरु भएको हो । भोलिसम्म चल्ने इभेन्टको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शुभारम्भ गर्नुभयो । बागेश्वरी मन्दिर परिसरबाट बिहान साइकल यात्रा सुरु भएको हो ।
कार्यक्रम संयोजक प्रदीप सापकोटाले उक्त इभेन्टमा २५० बढी महिला पुरुष साइकल यात्रीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । यसमा भारतीय समेत रहेको सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार इभेन्टको रुट बागेश्वरी मन्दिर परिसरबाट सुरु भई त्रिभुवन चोक, वीपी चोक, सुर्खेत रोड हुँदै बाँकेको कम्दी, कोहलपुर, चप्परगौडी, खड्कवार हात्तीसार, बाँके निकुञ्ज, सुतैया ताल भएर गाभर भ्यालीमा पुग्नेछ । टोलीले त्यहाँ विश्राम लिई दोस्रो दिनको यात्रा च्यामा चोक, सम्झना चोक, मान खोला हुँदै ओम केदारेश्वर धाम बाँसगढी, सतखलुवा, बैदी, बबई भुरीगाउँ भएर ठाकुरद्वारा मन्दिरसम्मको १३० किलोमिटरको यात्रा पार गर्नेछ ।
इभेन्टको मुख्य प्रायोजकको रूपमा बिवाइडी रहेको छ । नेपालगन्ज साइक्लिंग क्लबले बिहीबार सिद्धार्थ नेपालगन्ज किड्स फेस्टिबल २०८२ पनि आयोजना गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्