तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा आइपुग्यो निर्वाचन सामग्री

बाजुरा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बाजुरामा आवश्यक निर्वाचन सामग्री आइपुगेको छ। 

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका लागि मतपत्र बाहेकका सम्पूर्ण सामग्री जिल्ला पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अंगत महतका अनुसार केन्द्र तथा प्रदेश निर्वाचन कार्यालयबाट मङ्गलवार र बुधवार गरी आवश्यक सामग्री जिल्लामा ढुवानी गरिएको हो।

निर्वाचन आयोगबाट पठाइएका सामग्रीमा मतदान केन्द्रका लागि मतपत्र, सुरक्षणशील, छेकाबारा, नउड्ने मसीको मार्कर, स्ट्याम्प प्याड, प्याडको मसी, दुई प्रकारका स्वस्तिक छाप, मतपेटिका स्टिकर लगायतका सामग्री रहेका छन्। 

त्यस्तै सिलिङ बक्स, अनुसूची फाराम, पुसपिन, डायरी, मार्कर पेन, स्केल, स्टेप्लर मेसिन, स्टेप्लर पिन, कैँची, ग्लु–स्टिक, पञ्चिङ मेसिन, परिचयपत्र होल्डर, सेतो कपडा, धागो, सियो, मैनबत्ती, मतदाता क्रमसङ्ख्या सूची, मतदान केन्द्र कार्ड तथा सेतो कागजसमेत जिल्लामा आइपुगेको कार्यालयले जनाएको छ।

निर्वाचन सामग्री समयमै आइपुगेपछि तयारी तीव्र पारिएको र निर्वाचन सम्पन्न गर्न कार्यालयले आवश्यक व्यवस्थापन गरिरहेको जिल्ला निर्वाचन अधिकारी भीम बहादुर शाहीले बताउनुभयो। 

बाजुरामा आगामी निर्वाचनमा एक स्वतन्त्रसहित आठ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ। जिल्लाभर कुल ८७ हजार ८ सय ६१ मतदाता रहेका छन्। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button