तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा प्रतिनिधिसभा निर्वाचनका मतपत्र आइपुगे

बैतडी। बैतडीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य निर्वाचन सामग्री आइपुगेको छ।

फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फका मतपत्र मङ्गलवार जिल्ला ल्याइएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बैतडीका सहायक निर्वाचन अधिकृत विष्णुराज पन्तका अनुसार प्रत्यक्षतर्फ एक लाख ६८ हजार र समानुपातिकतर्फ एक लाख ७१ हजार मतपत्र आइपुगेका छन्।

निर्वाचन कार्यालय बैतडीका प्रमुख खगेन्द्र भारतीले निर्वाचनका लागि आवश्यक अन्य सामग्री पनि आइपुगेको जानकारी दिनुभएको छ। मतपेटिका भने अघिल्लो निर्वाचनकै प्रयोग गरिने जनाइएको छ। निर्वाचन आयोगबाट प्राप्त सामग्री रुजु गरी सुरक्षित राखिएको र छिट्टै सम्बन्धित मतदान केन्द्रमा पठाइने तयारी भइरहेको छ।

जिल्लामा निर्वाचन तयारी तीव्र पारिएको छ। बैतडीमा कुल एक लाख ५६ हजार तीन सय ७२ मतदाता रहेका छन्। एक निर्वाचन क्षेत्र रहेको जिल्लामा एक स्वतन्त्र उम्मेदवारसहित ११ जनाको उम्मेदवारी परेको छ।

जिल्लाभर एक अस्थायी केन्द्रसहित २१५ मतदान केन्द्र रहेका छन्। १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य सूचीमा परेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button