पोखरा–काठमाडौँ ईभी बस सेवा सुरु
पोखरा । पर्यटनको राजधानी पोखरादेखि काठमाडौँ धुलिखेलसम्मको लागि ईभी बस सेवा सुरु भएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीमा आबद्ध पोखरा जगदम्बा ट्राभल्सले लामो दूरी पोखरा–काठमाडौँको धुलिखेल/बनेपा रुटमा ईभी लक्जरी बस सेवा सुरु गरेको हो ।
बुधबारदेखि सञ्चालनमा आएको सो सेवा दुई वटा सुविधा सम्पन्न इलेक्ट्रिक बस मार्फत सेवा विस्तार गरेको पोखरा जगदम्बा ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले बताउनुभयो । उहाँले ३५ सिट क्षमताको ईभी लक्जरी बस सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । जहाजसरह आरामदायी सिट सुविधा रहेको बसको भाडादर पोखरा–धुलिखेल/बनेपाका लागि जम्मा ९ सय रुपैयाँ निर्धारण गरिएको उल्लेख गर्दै उहाँले जगदम्बाको ब्राण्ड रुचाउने मध्यम वर्ग, विद्यार्थी तथा सुलभ सेवा खोज्ने यात्रुलाई ध्यानमा राखेर भाडा तय गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

उक्त कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष ऐनकुमार साही, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, ट्राफिक प्रहरी उपरीक्षक दानबहादुर थापा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका संयोजक केदार पौडेल र नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल लगायतले अबको यात्रा सुरक्षित र गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो । पोखरा जगदम्बाले विगत लामो समयदेखि पोखरा–काठमाडौँ तथा पोखरा–दिल्ली लक्जरी बस सेवा सञ्चालन गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्