तपाईँ सुन्दै हुनुहुन्छः

टुर डे ठाकुरद्वाराको आठौँ संस्करण फागुन ८ र ९ गते हुने

नेपालगन्ज । पश्चिम नेपालका पर्यटकीय स्थलहरूको प्रचारप्रसारका लागि टुर डे ठाकुरद्वाराको आठौँ संस्करण आयोजना हुँदैछ । नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा फागुन ८ र ९ गते टुर डे ठाकुरद्वाराको आठौँ संस्करण हुने भएको हो । नेपालगन्जमा आज पत्रकार सम्मेलन गरेर आयोजक नेपालगन्ज साइक्लिङ क्लबले प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । 

कार्यक्रम संयोजक प्रदीप सापकोटाले उक्त इभेन्टमा २५५ बढी महिला(पुरुष साइकलयात्रीहरूको सहभागिता रहने जानकारी दिनुभयो । यसमा भारतीय २० जना रहने सापकोटाले जानकारी दिनुभयो । सापकोटाका अनुसार इभेन्टको रुट बागेश्वरी मन्दिर परिसरबाट सुरु भई त्रिभुवन चोक, बिपी चोक, सुर्खेत रोड हुँदै बाँकेको कम्दी, कोहलपुर, चप्परगौडी, खड्कवार हात्तीसार, बाँके निकुञ्ज, सुतैया ताल भएर गाभर भ्यालीमा पुग्नेछ । टोलीले त्यहाँ विश्राम लिई दोस्रो दिनको यात्रा च्यामा चोक, सम्झना चोक, मान खोला हुँदै ओम केदारेश्वर धाम बाँसगढी, सतखलुवा, बैदी, बबई भुरीगाउँ भएर ठाकुरद्वारा मन्दिरसम्मको १३० किलोमिटरको यात्रा पार गर्नेछ । 

इभेन्टको मुख्य प्रायोजकको रुपमा बिवाइडी रहेको छ । नेपालगञ्ज साइक्लिङ क्लबले फागुन ७ गते सिद्धार्थ नेपालगञ्ज किड्स फेस्टिभल २०८२ पनि आयोजना गर्दैछ । कार्यक्रमको अध्यक्षता नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष कबिराम बुढाथोकीले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रथम उपाध्यक्ष सुनिल सिंह हमालले ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button