तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालमा निर्वाचन लक्षित समावेशी कार्यक्रम उत्पादन सम्बन्धी प्रशिक्षण सुरु

काठमाडौँ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम आजदेखि सुरु भएको छ ।

प्रशिक्षण कार्यक्रममा रेडियो नेपाल सिंहदरबारमा कार्यरत समाचार तथा कार्यक्रममा संलग्न प्रसारक, सम्पादक, सम्वाददाता र बागमती प्रदेशका जिल्लाहरूका स्थानीय संवाददाताहरू सहभागी रहेका छन् ।

प्रशिक्षण कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले विभिन्न राष्ट्र भाषाको आ–आफ्नै मौलिकता र विशेषता रहेकाले त्यसलाई प्राथमिकता दिई प्रसारण सामग्रीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष विष्टले फागुन २१ गते हुन गइरहेको आम निर्वाचन समावेशिता र लोकतन्त्रका लागि महत्त्वपूर्ण भएकोले रेडियो नेपाल र नेपाल टेलिभिजनले समावेशितामा आधारित कार्यक्रम र समाचारमार्फत आम मतदातालाई जागरूक बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सार्वजनिक सेवा प्रसारण नेपालका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले निर्वाचन सम्बन्धी समाचार तथा कार्यक्रम समावेशिता र निर्वाचन आचार संहितालाई ध्यान दिँदै सन्तुलित र  निष्पक्ष हुनुपर्ने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर विष्ट, सञ्चालक समितिका सदस्यहरू डाक्टर भूमिराज चापागाईँ र अनिता गुरुङ, निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे र रेडियो नेपालका उपनिर्देशक जनार्दन विष्टले समावेशी प्रसारणका विषय सामग्री, निर्वाचनमा समावेशिता, प्रसारण पत्रकारितामा समावेशिताको अवधारणा र निर्वाचनमा मतदाता शिक्षामा प्रसारण माध्यमको भूमिका विषयमा प्रशिक्षण दिनुहुने छ ।

कार्यक्रममा रेडियो नेपालका तालिम तथा कार्यक्रम प्रमुख तारा प्रसाद वस्तीले रेडियो नेपालले लामो समयदेखि समावेशिता विषयमा समाचार र कार्यक्रम उत्पादन र प्रसारण गर्दै आइरहेको र प्रशिक्षणबाट विषय सामग्रीको चयन र उत्पादनमा थप मद्दत पुग्ने बताउनुभयो ।

तस्वीर: मिलन ढुङ्गाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button