निर्वाचन आचारसंहिता पालनाले सुशासन सुदृढ पार्छ : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुनावलाई निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि हरेक राजनीतिक दलहरूले निर्वाचन आचार सहिताको पालना गर्नु पर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री यादवले निर्वाचन आयोग नेपाल र कानुन समाजद्वारा आज जनकपुरधाममा आयोजना गरिएको निर्वाचन आचार सहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयमा आयोजना कार्यक्रममा सो कुरा बताउनुभएको हो ।
उहाँले राजनीतिक दलको सहमतिमा नै तयार भएको निर्वाचन आचार संहिता २०८२ हरेक व्यक्तिले पालना गरेको खण्डले यसले निर्वाचनमा हुने अनावश्यक खर्चमा नियन्त्रण भएर दीर्घकालमा मुलुकमा सुशासन स्थापनामा ठूलो मद्दत पुग्ने बताउनुभयो ।
मुख्यमन्त्री यादवले निर्वाचनमा हुने गरेको अत्यधिक खर्चका कारणले राम्रो उम्मेदवारलाई चुनावमा भाग लिनमा समस्या हुने गरेको बताउँदै विगत भन्दा अहिले निर्वाचनमा आचार संहिता उल्लङ्घनका घटनामा कमी हुन थाल्नु सुःखद भएको बताउनुभयो ।

निर्वाचन आयोगका निर्वाचन आयुक्त सगुन सम्शेर जवराले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र तथा धाँधलीरहित रूपमा सम्पन्न गर्नका लागि राजनीतिक दलहरूको सहमतिमा नै निर्माण भएको निर्वाचन आचार सहिताको पालना हरेकले गर्नु पर्ने धारणा राख्नुभयो ।
उहाँले निर्वाचनलाई कम खर्चिलो तथा तडकभडक मुक्त बनाउनका लागि निर्वाचनमा भाग लिने दल तथा तीनका उम्मेदवार मात्र होइन आम नेपाली नागरिकले आचार सहिताको पालना गर्नु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा आयोगका सह–सचिव राजेन्द्र केसी र मधेस प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र कुमार महतोले छुट्टा छुट्टै विषयमा कार्यपत्र प्रस्तुत गर्दै मुलुकमा दीर्घकालमा सुशासन स्थापनाका लागि निर्वाचन आचार सहिताको पालना सबैले गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मधेस प्रदेशका चारै सुरक्षा अङ्गका प्रमुखहरू, धनुषा तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरू, निर्वाचन कार्यालयका प्रमुखहरू तथा जिल्ला स्थित सुरक्षा कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्