तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा निर्वाचन: आजदेखि घरदैलो अभियान सुरु, जनचासोमा भक्तपुर-२

भक्तपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा जटेका दलहरूले आजबाट घरदैलो अभियान सुरु गरेका छन् । 

प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र न-१ र क्षेत्र न-२ मा उम्मेदवारी दिएका मुख्य दलहरूले आजबाट घरदैलो कार्यक्रम सुरु गरेका हुन् । आज बिहान नेकपा एमाले, नेपाली काँग्रेस, नेमकिपा, राप्रपा, रास्वपालगायतका दलहरूले निर्वाचनका दुवै क्षेत्रमा घरदैलो अभियान सुरु गरिसकेका छन् भने अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि प्रचारप्रसार तीव्र पारेका छन् । 

भक्तपुर क्षेत्र न-२ मा चुनावी सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धी दलहरूलाई चुनावी माहोलले तताएको छ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू जनता माझ पुगिरहनुभएको छ भने विकासका एजेन्डा बोकेर उम्मेदवारहरू घरघर टोल टोल पुग्न थालेका हुन् । 

भक्तपुर क्षेत्र न-२ यस वर्षको निर्वाचनमा निकै चासोको क्षेत्र बनेको छ । नेकपा ९एमाले०का सचिव महेश बस्नेतको उम्मेदवारी रहेको यस क्षेत्रको निर्वाचन के हुन्छ भन्नेमा मतदाताबिच अड्कलबाजी गर्न व्यस्त छन् । बस्नेतले यस क्षेत्रबाट लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ । 

यसअघि विसं २०७० को निर्वाचनमा रामेश्वर ढुङ्गेलसँग पराजित हुनुभएका उहाँ २०७४ सालमा नेपाली काँग्रेसका उम्मेदवार दमननाथ ढुङ्गाना पराजित गर्नुभएको थियो । साथै २०७९ सालको निर्वाचनमा नेपाली काँग्रेसका दुर्लभ थापाले २४ हजार २३८ मत ल्याएर निर्वाचित हुँदा एमालेका महेश बस्नेतले भने २३ हजार २७९  मत ल्याएर बस्नेत पराजित हुनुभएको थियो । 

यसपटकको निर्वाचनमा बस्नेतसँगै नेपाली काँग्रेसको तर्फबाट पत्रकार कबिर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पत्रकार राजीव खत्री र नेकपाका दिपशिखा प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस क्षेत्रमा २०४८ सालमा नेपाली काँग्रेसका जगन्नाथ आचार्य, २०५१ सालमा नेमकिपाका आशाकाजी बासुकला, २०५६ सालमा काँग्रेसका लेखनाथ न्यौपाने, २०६४ सालमा नेमकिपाका सुनिल प्रजापति, २०७० सालमा नेपाली काँग्रेसका रामेश्वर ढुङ्गेल, २०७४ सालमा नेकपा एमालेका महेश बस्नेतले र २०७९ सालमा नेपाली काँग्रेसका दुर्लभ थापाले निर्वाचित हुनुभएको थियो । 

एमालेका बस्नेत संवृद्ध र सुखी भक्तपुरको मुद्दा लिएर अगाडि बढ्नुभएको छ । नेपाली काँग्रेसका राणा भक्तपुरको सेरोफेरो विकास गर्ने एजेन्डा बोकेर जनतामाझ गएको बताउनुहुन्छ । भक्तपुर क्षेत्र न-२ मा काँग्रेसको बलियो आधार रहेको, यसअघि पनि तीन पटक काँग्रेस विजयी भइरहेको क्षेत्र भएकाले आफ्नो जितको आधार भएको बताउनुभयो । 

चुनावी प्रचारमा तीव्र गतिमा लाग्दै टोल टोल मतदातामाझ पुग्नु भएका रास्वपाका उम्मेदवार एवं पत्रकार राजीव खत्री मतदाताले यस पटक नयाँलाई अवसर दिन माग गर्नुभएको छ । उहाँले भक्तपुरदेखि देशभरको समस्या संसदमा उठाउने र भक्तपुरको विकासमा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । 

नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार हुनु भएका रामप्रसाद सापकोटा (दिपशिखा)ले पनि भक्तपुरको विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताउँदै विभिन्न दलहरूसँगको एकता र मतदाताको विश्वासले यस पटक क्षेत्र न-२ मा पहिलो पटक आफू निर्वाचित हुने दाबी गर्नुहुन्छ । 

भक्तपुर क्षेत्र न-२ मा यस पटक नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा, उज्यालो नेपाल पार्टीबाट जितराम लामा, श्रम संस्कृति पार्टी अर्जुन बासु, त्रीमुल नेपालबाट राकेश श्रेष्ठ, नेपाल जनसेवा पार्टी जानुका पाठक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पत्रकार जन्मदेव जैसी, नेपाल कम्युनिस्ट पाटी संयुक्त लोककृष्ण दाहाल, जनता समाजवादी पार्टी नेपालबाट नवीन श्रेष्ठ, नेकपा माओवादीबाट प्रकाशराज ढुङ्गेल, मंगोल नेशनल अर्गनाइजेसनबाट पेम्वा घले, नेपालका लागि नेपाली पार्टीबाट राजेश बाडे पनि मतदाताको घरदैलोमागएर मत माग्न थाल्नु भएको छ । 

यस क्षेत्रबाट सविन महत, प्रदिपकुमार रूपाखेती, आनन्द कार्की, मधु प्रकाश साहुखल, श्यामकृष्ण धुख्वा, लक्ष्मि बास्तोला पौडेल, बालकृष्ण थापा, ओमकृष्ण कुटु, नवीनकुमार महत, साजन ढकाल, सुवर्ण थापा, रेणु श्रेष्ठ, अर्चना भट्टराई, अनिता भट्टराईले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button