तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम पृथ्वीनारायण गोल्डकप: नेपाल पुलिस विजेता

गोरखा ।  गोरखा स्थित छेवेटार खेलमैदानमा शनिबार सम्पन्न प्रथम पृथ्वीनारायण गोल्डकप प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लब विजेता बनेको छ ।  चित्लाङ फुटबल क्लबलाई साँघुरो नतिजामा पराजित गर्दै ऐतिहासिक उपलब्धि हात पार्न सफल भएको हो । 

खेलमा चित्लाङ फुटबल क्लबलाई १ – ० गोल अन्तरले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लबले उपाधि रक्षा गरेको हो । पहिलो हाफको ४० औँ मिनेटमा ओसेन्द्र कटुवालले सुन्दर गोल मार्फत पुलिसलाई अग्रता दिलाएका थिए । 

दोस्रो हाफ थप रोमाञ्चक बन्दा चित्लाङ फुटबल क्लबले दबाब सिर्जना गरेता पनि बराबरी गोल गर्न नसक्दा उपविजेतामा चित्त बुझाएको छ ।  फाइनल खेलमा एकमात्र निर्णायक गोल गरेका ओसेन्द्र कटुवाल उक्त खेलको म्यान अफ दि म्याच बन्दै नगद रु. ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

व्यक्तिगत विधातर्फ पुलिसको वर्चस्व रहँदा प्रतियोगिताको उत्कृष्ट गोलकिपर पुलिसका राजीव राई, प्रतियोगिताको उत्कृष्ट कोच पुलिसकै संजित श्रेष्ठ बन्दै जनही रू.१५००० प्राप्त गरेका छन् । साथै प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडी चित्लाङ फुटबल क्लबका कप्तान सकल रेग्मी बनेका छन् । रेग्मीले नगद रु.२५००० प्राप्त गरेका छन् । 

प्रतियोगिताको विजेता बनेको नेपाल पुलिस क्लबले नगद रु.८ लाखसहित आकर्षक ट्रफी प्राप्त गरेको छ भने, उपविजेतामा चित्त बुझाएको चित्लाङ फुटबल क्लबले नगद रु ४ लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा दुई विभागीय सहित चिर परिचित ८ टोलीहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button