महाशिवरात्रि र नेपाली सेना दिवसमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना
काठमाडौँ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्व तथा नेपाली सेना दिवस २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले महाशिवरात्रिले आत्मशुद्धि, संयम, त्याग र सदाचारको मार्गतर्फ उन्मुख हुन प्रेरणा दिने उल्लेख गर्नुभएको छ। उहाँले पशुपतिनाथको रूपमा पुकारिने भगवान् शिवको आराधनाबाट प्राप्त आध्यात्मिक चेतनाले समाजमा शान्ति, सद्भाव, सहिष्णुता र एकताको भावना सुदृढ होस् भन्ने कामना व्यक्त गर्नुभएको छ।
त्यस्तै, नेपाली सेना दिवसले राष्ट्रको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणमा नेपाली सेनाको योगदानलाई स्मरण गर्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै उहाँले राष्ट्रसेवामा समर्पित नेपाली सेनाका सम्पूर्ण सदस्यहरूप्रति शुभकामना व्यक्त गर्नुभएको छ।
पूर्वराष्ट्रपतिले महाशिवरात्रि पर्व र नेपाली सेना दिवसले सबै नेपालीमा राष्ट्रप्रेम, कर्तव्यनिष्ठा र आपसी सहकार्यको भावना सुदृढ बनोस् र देशमा शान्ति, स्थायित्व, समृद्धि र प्रगतिका नयाँ सम्भावनाहरू खुलोस् भन्ने अपेक्षा व्यक्त गर्नुभएको छ।






प्रतिक्रिया राख्नुहोस्