तपाईँ सुन्दै हुनुहुन्छः

पिस एण्ड युनिटी रन प्रतियोगितामा सुर्खेतकी बिमला र डोल्पाका अर्जुन विजयी

सुर्खेत । नेपाल सेनाले सुर्खेतमा आयोजना गरेको ‘पिस एण्ड युनिटी रन’ प्रतियोगिताको खुला दौड (१० किलोमिटर) मा सुर्खेतकी बिमला कार्की र डोल्पाका अर्जुन बुढा प्रथम हुनुभएको छ ।

सेनाको उत्तरपश्चिम पृतनाद्वारा आज वीरेन्द्रनगरमा आयोजित उक्त दौड प्रतियोगितामा महिलातर्फ विमलाले ४१ मिनेट तीन सेकेन्ड र खुला पुरुषतर्फ अर्जुनले ३१ मिनेट १७ सेकेन्डमा दुरी पूरा गर्नुभएको हो । यस्तै, द्वितीय स्थानमा पुरुषतर्फ आशिष गुरुङ र महिला तर्फ गीता खड्का रहनुभयो । तृतीय स्थानमा पुरुषतर्फ मुकेश शाही र महिलातर्फ करुणा ऐडी रहनुभयो ।

५ किलोमिटर छात्रातर्फ चन्द्रा बुढाले प्रथम उपाधि हात पार्न सफल हुनुभयो । उहाँले ५ किलोमिटरको दुरी २३ मिनेट ३ सेकेण्डमा पूरा गर्नु भएको हो । द्वितीय स्थानमा संस्कृति सापकोटा, तृतीय स्थानमा दीपा कठायत रहनुभएको थियो ।

१० किलोमिटर दौडमा महिला खुला र पुरुष खुलातर्फ प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । यस्तै पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पाउनु भयो ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, उत्तरपश्चिम पृतनापति दिपेशजंग शाह र सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले प्रतियोगिताका विजयी प्रतियोगीलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

उत्तर पश्चिम पृतनाले महाशिवरात्रि तथा सेना स्थापनाको २६३ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न भन्दै हरेक वर्ष दौड प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button