तपाईँ सुन्दै हुनुहुन्छः

सुसंस्कृत र सन्तुलित शैलीमा मतदाताबिच प्रस्तुत हुन काँग्रेसको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसले सभ्य, सुसंस्कृत र सन्तुलित शैलीमा मतदाताबिच प्रस्तुत हुन पार्टीका उम्मेदवार तथा कार्यकर्तालाई आग्रह गरेको छ । 

नेपाली काँग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी लोकप्रिय बन्नका लागि कपोलकल्पित र असम्भव बाचा गर्ने तथा जनताको मन भाँड्ने खालका क्रियाकलाप नगर्न पार्टी पङ्क्तिलाई आग्रह गरेको हो । 

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले निर्वाचन आचारसंहिता निःशर्त रूपमा पालना गर्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै तर्क, विवेकबाट निर्दिष्ट व्यवहार मात्र प्रदर्शन गर्न पार्टी पङ्क्तिमा अभिमुखीकरण भइसकेको बताउनुभयो ।

नेपाली काँग्रेस आफ्नो व्यवहार र कार्यशैलीबाट उदाहरण बन्न चाहेको उल्लेख गर्नुहुँदै प्रवक्ता चालिसेले कुनै पनि किसिमका अशोभनीय, अराजक र अवाञ्छित व्यवहार देखाउने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो । 

काँग्रेसले भोलि पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने तय भएको उल्लेख गर्नुहुँदै प्रवक्ता चालिसेले घोषणा पत्रमा गर्नसक्ने काम मात्रै उल्लेख भएको बताउनुभयो । 

निर्वाचन आयोगले तोकेको तालिका अनुसार फागुन ४ गतेदेखि कांग्रेस देशैभर चुनावी प्रचारप्रसारको औपचारिक कार्यक्रम लिएर जाने उल्लेख गर्नुहुँदै प्रवक्ता चालिसेले यही फागुन ६ गते काँग्रेसले मधेश प्रदेशको राजधानी जनकपुरमा आमसभा गर्ने समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button