सातौँ झापा गोल्डकप : मच्छिन्द्र फाइनलमा प्रवेश
झापा । विदेशी खेलाडी चम्किँदा मच्छिन्द्र फुटबल क्लबले चार पटकको झापा गोल्डकप विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

मछिन्द्रका स्ट्राइकर समेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिक मद्दतमा मच्छिन्द्र फाइनल प्रवेश गरेको छ । मछिन्द्रले उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
मछिन्द्रले खेलको चौथो मिनेटमै अग्रता लियो । मछिन्द्रका लागि जोनाथन जोरिल्लाले गोल गरे । खेलको २४ औँ मिनेटमा मछिन्द्रले पेनाल्टी पायो । उनै जोरिल्लाले पेनाल्टीलाई सदुपयोग गर्दै अग्रता दोब्बर बनाए ।
पहिलो हाफ २–० को बराबरी भएपछि दोस्रो हाफमा आर्मी दबाबमा परेको थियो । मछिन्द्रले खेलको ५२ मिनेटमा अर्को गोल थपेर खेलमा जीत सुनिश्चित गरेको थियो । जोरिल्लाले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
खेलको अतिरिक्त समयमा मछिन्द्रका सब्सिच्युट खेलाडी रेजिन सुब्बाले एक गोल थपे ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका जोनाथन जोरिल्ला घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते एपीएफ र मच्छिन्द्रबिच हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्