मतदाताको प्राथमिकतामा बाढी नियन्त्रणदेखि कृषि सामग्रीको सहज उपलब्धतासम्म
नेपालगञ्ज । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाँके क्षेत्र नम्बर २ अन्तर्गत डुडुवा गाउँपालिकाका मतदाताले उम्मेदवारहरूसँग तटबन्ध, डुबान नियन्त्रण र कृषि सामग्री सुनिश्चित गर्न आग्रह गरेका छन् । स्थानीयले बाढी–डुबान नियन्त्रणदेखि कृषि क्षेत्रमा देखिएका समस्याको दीर्घकालीन समाधान गर्न आग्रह गरेका हुन् ।

स्थानीयका अनुसार वर्षेनी बर्खायाममा आउने बाढीका कारण राप्ती नदी र डुडुवा खोला आसपासका बस्ती डुबान र कटानको चपेटामा पर्दै आएका छन् । त्यसैले यी दुवै नदी–खोलामा स्थायी तटबन्ध निर्माण गरी समस्या समाधान गर्न उनीहरूले माग गरेका छन् । डुडुवा गाउँपालिकाका स्थानीय रामसुरत कुर्मीले बर्खायाममा हुने डुबान र जमिन कटानका कारण किसान प्रत्यक्ष मारमा पर्ने गरेको बताउनुभयो । उहाँले दीर्घकालीन योजना बनाएर बाढी नियन्त्रण र जमिन संरक्षणका उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यस्तै, स्थानीय चन्दा यादवले कृषकलाई समयमै सिँचाइ सुविधा, मल र बीउ उपलब्ध गराउन पहल गरिदिन उम्मेदवारहरूसँग अनुरोध गर्नुभयो । “खेतीपाती नै मुख्य आम्दानीको स्रोत हो, तर आवश्यक सामग्री ढिलो पाउँदा उत्पादनमा असर पर्छ,” उहाँले भन्नुभयो ।
बाँके क्षेत्र नम्बर २ मा २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । यद्यपि मुख्य प्रतिस्पर्धा भने सुधांशु कोइराला (नेपाली कांग्रेस), मो। इश्तियाक राई (नेकपा एमाले) र विवेक कुमार श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) बीच हुने देखिएको छ । स्थानीय मतदाताले यस पटक विकास र पूर्वाधारलाई प्राथमिकतामा राखेर मतदान गर्ने सङ्केत गरेका छन् ।
बाँके क्षेत्र नम्बर २ मा नेपालगञ्ज उपमहानगरपालिकाका २१ वडा र डुडुवा गाउँपालिकाका ६ गरी २७ वडा पर्दछन् । क्षेत्र नम्बर २ मा ५७ हजार ११७ पुरुष, ५१ हजार १६७ महिला र ६ अन्यसहित कूल १ लाख ८ हजार २९० मतदाता रहेका छन् । निर्वाचनमा ४३ वटा मतदान स्थल र १२४ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्