तपाईँ सुन्दै हुनुहुन्छः

महिला अधिकार सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुपर्छ ः मन्त्री श्रेष्ठ

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले महिला अधिकार सुनिश्चितताको नीतिगत कार्यान्वयनका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुपर्ने बताउनुभएको छ ।

११६औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री श्रेष्ठले महिला तथा बालबालिकाको अधिकारको हितमा नीति कार्यान्वयनका पक्षहरू सुदृढ बनाउन मन्त्रालय सक्रिय रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री श्रेष्ठले निर्वाचन आचारसंहिताका कारण यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा मनाउन नसकिए पनि महिला तथा बालबालिकाको अधिकार सुनिश्चितता सम्बन्धी कार्यक्रम तथा सूचनाको प्रसारण प्रविधि र सञ्चार माध्यमको प्रयोगमार्फत अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णलले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस सबै वर्ग र समुदायका महिलाको अधिकार, समानता र न्यायको पहुँच वृद्धिमा केन्द्रित रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button