ताप्लेजुङमा मतदाता शिक्षा कार्यक्रम सुरु

ताप्लेजुङ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावकारी रूपमा सम्पन्न गर्न ताप्लेजुङमा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार जिल्लाको ६१ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि स्वयंसेवक छनोट भएका छ भने मतदाता स्वयंसेवक अनुगमनकर्ताको तालिम सम्पन्न भएको छ ।
प्रत्येक पालिकामा स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिहरू मतदाता शिक्षा अनुगमनकर्ता तोकिएको छ । पालिकाका अनुगमनकर्ताले मतदाता स्वयंसेवकलाई तालिम दिई फागुन ३ गते देखि १७ गते सम्ममा मतदाता शिक्षा सम्पन्न गर्नु पर्ने जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निर्वाचन अधिकारी धनराज श्रेष्ठले जानकारी दिनुभयो ।
नौ स्थानीय तह रहेको ताप्लेजुङमा मतदाता शिक्षा स्वयंसेवकले आम मतदातालाई सही तरिकाले मतदान गर्ने,मतपत्र पट्याउने र मतपेटिकामा खसाल्ने तरिकाबारे समेत मतदाता स्वयंसेवकले मतदातालाई जानकारी गराउने छन् ।
मतदाता शिक्षाले आम मतदाताको सहभागिता अभिवृद्धि र बदर मतको सङ्ख्या न्यूनीकरण गर्नु साथै मतदान गर्ने,मतपत्र पट्याउने र मतपेटिकामा खसाल्ने तरिकाबारे समेत सिकाइने पनि यस कार्यक्रमको उद्देश्य रहेको अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।
निर्वाचन कार्यालयले नमुना मतदान पनि गर्ने भएको छ । सम्भव भएसम्म जिल्लाको नौ स्थानीय तहमा नै गर्ने योजना रहेको समेत निर्वाचन कार्यालयले जनाएको छ ।
१ निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा प्रत्यक्षतर्फ १३ राजनीतिक दलका १३ उम्मेदवार रहेका छन् । महिला र स्वतन्त्रको उम्मेदवारी भने परेको छैन । जिल्लामा ९० हजार ३ सय २७ मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्