बाजुराका १० मतदान केन्द्रमा हेलिकोप्टर मार्फत मतपेटिका ढुवानी गरिँदै
बाजुरा। बाजुराका १० मतदान केन्द्र अझै पनि सडक तथा यातायात सुविधाको पहुँचभन्दा बाहिर रहेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै ती दुर्गम केन्द्रमा हेलिकोप्टर मार्फत मतपेटिका तथा मतदान सामग्री ढुवानी गर्ने तयारी गरिएको छ।

जिल्लामा रहेका ७७ मतदान केन्द्रमध्ये हिमाली गाउँपालिका–३ स्थित हिमाल भक्ति मतदान केन्द्र सबैभन्दा दुर्गममध्ये एक मानिएको छ। सो क्षेत्रमा हालसम्म न विद्युत् सेवा पुगेको छ, न त सडक यातायातको सुविधा नै उपलब्ध छ। हिमाली गाउँपालिका–३ का वडाध्यक्ष मङ्गल बढुवालका अनुसार उक्त केन्द्रमा करिब ७० देखि ७६ जना मतदाता सङ्ख्या रहेको छ। ती मतदाताका लागि गुम्बा क्षेत्रमा मतदान केन्द्र तोकिएको छ।
गत वर्षझैँ यस वर्ष पनि उक्त केन्द्रमा हेलिकोप्टरमार्फत मतपत्र र मतपेटिका ढुवानी गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायसहितको टोलीले स्थलगत अनुगमन गर्दा १० मतदान केन्द्र अझै सडक सञ्जालबाट टाढा रहेको पुष्टि भएको थियो।
प्रजिअ निरौलाका अनुसार हिमाली गाउँपालिकामा पाँच, स्वामीकार्तिक खापर गाउँपालिकामा दुई तथा गौमुल, जगन्नाथ गाउँपालिका र त्रिवेणी नगरपालिकामा एकरएक गरी १० मतदान केन्द्र यातायात पहुँचबाहिर रहेका छन्। हिमाली गाउँपालिका –३ स्थित हिमाल भक्ति आधारभूत विद्यालय, गुम्बा क्षेत्र अत्यन्त टाढा रहेको मतदान स्थल हो, जहाँ पुग्न चार घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्ने अवस्था छ।
ती मतदान केन्द्रहरू सुरक्षाका दृष्टिले पनि संवेदनशील मानिएका छन्। हिमाली र गौमुलका अति दुर्गम केन्द्रमा हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गरिनेछ भने अन्य सडक पुगेका स्थानमा नजिकसम्म कडा सुरक्षासहित पैदल बोकाएर मतपेटिका पुर्याइने र त्यसपछि सवारी साधनमार्फत सदरमुकाम मार्तडी ल्याइने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्