तपाईँ सुन्दै हुनुहुन्छः

जावलाखेल आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश

पोखरा । जावलाखेल युथ क्लब पोखरामा जारी २५ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज (बुधवार) भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको हो ।

जावलाखेलको जितमा खेलको ५४ औँ मिनेटमा निकोलस ओडेन ह्यामिन्टन र खेलको ६६ औँ मिनेटमा बुबाकार सिसोखोले गोल गर्नु भएको हो। पहिलो हापमा दुवै तर्फ गोल हुन सकेन भने मच्छिन्द्र क्लबले पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो चरणको खेलबाटै बाहिरिनु पर्‍यो । आजको खेलमा जावलाखेलका निकोलस म्यान अफ दी म्याच घोषित हुनु भयो ।

जावलाखेलले फागुन ३ गते चर्च व्वाइज यूनाइटेडसंग प्रतिस्पर्धा गर्ने भएको खेल संयोजक पूर्ण बहादुर गुरुङले जनाउनु भयो ।

यसैबिच, भोलि (बिहीबार) तेस्रो प्रि—क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विरुद्ध पोखरेलीको प्रिय टोली मनाङ मर्स्याङ्दी क्लब बिच खेल हुने भएको छ । अस्थायी फ्लटलाइट जडान गरे पनि पर्याप्त मात्रमा खेल्न योग्य नभएको गुनासो आएसँगै आजदेखि आयोजक सहारा क्लबले दिउसो ४ः०० बजे देखि खेल सञ्चालन गरेको हो। यस अघि ५ः०० बजे पछि साँझमा खेल सञ्चालन गर्ने तयारी गरिएको थियो ।

मङ्गलवार भएको उद्घाटन खेलमा पाहुना टोली हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लबलाई पराजित गर्दै आयोजक सहारा क्लबले २५ औँ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फागुन ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ३ विदेशी सहित १२ टिमको सहभागिता रहेको सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनु भयो ।

प्रतियोगिताको विजेताले नगद १४ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७ लाख १ हजार रुपैयाँसहित शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस वर्षको सर्वोत्कृष्ट खेलाडीले टेल्जी इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button