तपाईँ सुन्दै हुनुहुन्छः

दैनिक १५ लाख मतपत्र छपाइ: बिहीबारदेखि वितरण गरिने

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छपाइ गरिरहेको छ ।

केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइको अवस्थाबारेमा राससलाई आज जानकारी दिँदै प्रत्यक्षतर्फ कूल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा आज बिहानसम्म एक करोड ५३ लाख मतपत्र छपाइ सम्पन्न गरेको जानकारी दिनुभयो । 

उहाँले दैनिक १३ लाख मतपत्र छपाइ भइरहेकामा अहिले मतपत्र छपाइ वृद्धि गरी दैनिक १५ लाख मतपत्र छपाइ भइरहेको र शुक्रवारसम्ममा सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उहाँले जानकारी दिनुभयो । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक पौडेलले भन्नुभयो, “प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य तीव्र गतिमा भइरहेको छ, ५० लाख मतपत्र छपाइ बाँकी छ, शुक्रवार साँझसम्म सबै मतपत्र छपाइ सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ, ढिलोमा शनिवारसम्म मतपत्र छपाइ सकिन्छ ।”

उम्मेदवार धेरै भएको जिल्लामा ठुलो आकार र थोरै उम्मेदवार भएको जिल्लामा सानो मतपत्र छाप्नुपर्ने हुँदा केही समय छपाइ सम्पन्न हुन ढिलाइ भएको केन्द्रको भनाइ छ । केन्द्रले छपाइ सम्पन्न गरेका १० लाख नमुना मतपत्र, निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्‍याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न गरी केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरेको थियो । 

उहाँले बिहीबारदेखि छपाइ भएको मतपत्र जिल्ला जिल्लामा पठाउन सुरु गरिने भएको छ । केन्द्रका प्रबन्ध सञ्चालक पौडेलले भोलि (बिहीबार)देखि दुर्गम क्षेत्रमा मतपत्र वितरण गरिने जानकारी दिँदै उहाँले फागुन १० देखि १२ गतेभित्र सबै जिल्लामा मतपत्र पुर्‍याइसक्ने बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button