समृद्धि र विकासका लागि सुशासन जरुरी : प्रदेश प्रमुख डा. कर्ण
जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डा. सुरेन्द्र लाभ कर्णले भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिमा नैतिकता तथा सदाचारको विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ वार्षिकोत्सवको अवसरमा आयोगको बर्दिबासस्थित कार्यालयद्वारा जनकपुरधाममा आयोजित विशेष समारोहमा बोल्दै उहाँले अख्तियारको दुरुपयोग रोक्नका लागि आयोगले खेलेको भूमिकाको सराहना गर्दै मुलुकमा सुशासन तथा समृद्धिका लागि भ्रष्टाचारको नियन्त्रण आवश्यक भएको बताउनुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेश सरकार प्रदेशमा सुशासन मार्फत समृद्धि र विकासको पक्षमा काम गर्न चाहे पनि सानो सानो विषयमा आयोगले गर्ने गरेको पत्राचारका कारणले कर्मचारीले काम गर्नबाट डराउने गरेको बताउनुभयो ।

मधेश प्रदेशका सभामुख रामआशिष यादवले अख्तियार प्रतिको जनविश्वास बढ्यो वा घट्यो जस्ता विषयको मूल्याङ्कन स्थापना दिवसमा गरेर सोही अनुसारको नीति बनाउन जरुरी रहेको बताउनुभयो ।
उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश टेक नारायण कुँवरले मधेश प्रदेशको शिक्षा, स्वास्थ्य तथा स्थानीय तहसम्बन्धी धेरै मुद्दाहरू विशेष अदालतमा पर्ने गरेको अनुभव सुनाउँदै यसमा सुधार हुन जरुरी रहेको बताउनुभयो ।
मधेश प्रदेशका प्रमुख सचिव कमल प्रसाद भट्टराईले सुशासनका लागि कर्मचारीको व्यवस्थापन, सेवा प्रवाह तथा खरिदमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, अख्तियारको बर्दिबास स्थित कार्यालयका प्रमुख राम बहादुर कुरुवाङ्ग र उप–सचिव प्रकाश पोखरेल लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा प्रदेश प्रमुख डा. कर्णले आयोगका बर्दिबास कार्यालयका नायव सुब्बा सुरेश कुमार बराल, शाखा अधिकृत अरुण कुमार बराल तथा प्रहरी निरीक्षक सञ्जीव सुवाललाई अख्तियार सेवा पुरस्कार प्रदान गर्नुभएको थियो । आयोगको बर्दिबास कार्यालयमा गत वर्ष परेका २ हजार ५ सय २५ उजुरी मध्ये १ हजार ७ सय १३ फर्छ्यौट हुन बाँकी रहेको जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्