लामो प्रतीक्षापछि नरैनापुर गाउँपालिकाको आफ्नै भवनबाट सेवा सुरु
बाँके। बाँकेको नरैनापुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। भवन निर्माण सम्पन्न भएसँगै अब गाउँपालिकाका सम्पूर्ण सेवा आफ्नै भवनबाट प्रवाह हुने प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिनुभयो।
दुई वर्षअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आउनुपर्ने भवन निर्माण कम्पनी महालक्ष्मी–जुगल बिल्डर्स जेभीको ढिलासुस्तीका कारण समयमै सञ्चालनमा आउन सकेको थिएन। पटक–पटक म्याद थप हुँदा पनि काम नसकिएपछि गाउँपालिकाले वडा कार्यालयबाट अस्थायी रूपमा सेवा प्रवाह गर्दै आएको थियो।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले आज विधिवत् रूपमा भवनको उद्घाटन गरेसँगै सेवा प्रवाह आफ्नै भवनबाट सुरु हुने वरिष्ठ लेखा अधिकृत भरत बस्नेतले बताउनुभयो। यसअघि साबिकको नरैनापुर गाविस कार्यालयबाट सेवा दिँदै आएको पालिकाले अब आफ्नै सुविधासम्पन्न भवनबाट नागरिकलाई सेवा प्रदान गर्ने उहाँको भनाइ छ।
लेखा अधिकृत प्रकाश अधिकारीका अनुसार ६ करोड ८० लाख ३१ हजार रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवनमा सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लगानी रहेको छ।
सूचना अधिकारी लक्ष्मीकान्त मिश्राका अनुसार भवनमा पुजापाठ सम्पन्न भइसकेको छ र आज एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरिएको हो।
नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ। स्थानीयवासी र जनप्रतिनिधिहरूले पनि यसले पालिकाको सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।







प्रतिक्रिया राख्नुहोस्