रौतहट–२: विरासतको अग्निपरीक्षामा फिर्दो आलम
रौतहट। रौतहट क्षेत्र न-२ मा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाली काँग्रेसका उम्मेदवार डा. मोहम्मद फिर्दो आलम चुनावी मैदानमा उत्रिनुभएको छ। यस निर्वाचन क्षेत्रमा यसपटकको चुनावलाई हार–जितको प्रतिस्पर्धा मात्र नभई जनविश्वास, विकासको दृष्टिकोण र राजनीतिक परिपक्वताको परीक्षणका रूपमा हेरिएको छ ।

स्वर्गीय शेख ईद्रीशपछि यस क्षेत्रको राजनीतिक नेतृत्व सम्हाल्दै आउनुभएका पूर्वमन्त्री स्वर्गीय मोहम्मद अफताब आलमको राजनीतिक विरासत अहिले उहाँका जेठा छोरा डाक्टर फिर्दो आलमको काँधमा आएको छ। तर यसपटकको निर्वाचनलाई विरासत जोगाउने मात्र नभई त्यसलाई जनअपेक्षा अनुसार रूपान्तरण गर्ने अवसरका रूपमा समेत लिइएको राजनीतिक विश्लेषकहरूले बताउनुभएको छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण कुमार साहसँग पराजित भएपनि डा. आलमले २८ हजार २४८ मत प्राप्त गर्नुभएको थियो । उक्त परिणामलाई उहाँले हारको रूपमा होइन, आत्मसमीक्षा र राजनीतिक परिपक्वताको पाठका रूपमा ग्रहण गर्नुभएको स्थानीय नेताहरूको भनाइ छ।
यसपटक डा। आलमको चुनावी अभियान भाषण र नारामा सीमित नरही घरदैलो कार्यक्रम, चौतारी संवाद, युवासँग प्रत्यक्ष छलफल तथा महिलासँग जीवनस्तर सुधारका विषयमा खुला संवादमा केन्द्रित रहेको उहाँको सहयोगी नौसाद आलमले जानकारी दिनुभयो । शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, ग्रामीण सडक, रोजगारी सिर्जना तथा सीमावर्ती क्षेत्रको समग्र विकास उहाँका प्रमुख चुनावी एजेन्डा रहेको बताउनुभयो ।
राजनीतिमा प्रवेश गर्नुअघि नेपाल प्रहरीको स्वास्थ्य सेवामा चिकित्सकका रूपमा सेवा दिनु भएका डा. आलमले जनताको दुःख–पीडालाई नजिकबाट बुझेको व्यक्तिका रूपमा आफूलाई स्थापित गर्नुभएको स्थानीय युवा समीर आलमले बताउनुभयो ।
रौतहट क्षेत्र नम्बर-२ विकासका हिसाबले अझै पनि पछाडि परेको क्षेत्र रहेको भन्दै यहाँ सडक, सिँचाइ, गुणस्तरीय विद्यालय, अस्पताल तथा रोजगारीको अभाव रहेको स्थानीयवासीले जानकारी दिनुभएको छ । डा. आलमले यस क्षेत्रलाई भोट बैङ्कका रूपमा मात्र नभई विकासको नमुना क्षेत्र बनाउने समय आएको स्पष्ट पार्नुभएको छ । काँग्रेसको सरकार बने र आफू निर्वाचित भए योजनाको होइन, कामको राजनीति देखिने उहाँले बताउनुभयो ।
उहाँले यसपटकको चुनाव व्यक्ति–व्यक्तिको मात्र नभई विकासको दृष्टिकोण र राजनीतिक जिम्मेवारी बोधको प्रतिस्पर्धा भएको स्पष्ट पार्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्