तपाईँ सुन्दै हुनुहुन्छः

बहुरिया : सामाजिक बन्धन कि व्यक्तिगत स्वतन्त्रता ?

धर्मेन्द्र झा/रासस,

काठमाडौँ । यही माघ ८ गतेदेखि मण्डला थिएटरमा प्रदर्शन प्रारम्भ भएको बहुरिया माघ २९ सम्म प्रदर्शित हुनेछ । दर्शकमार्फत समग्र समाजसामु प्रश्न ठड्याइरहेको बहुरिया सामान्यजस्तो कथावस्तु लाग्ने विशिष्ट प्रस्तुतिका रुपमा प्रस्तुत भएको छ भन्दा अस्वाभाविक हुँदैन ।

जम्मा दुईजना पात्रमा सीमित बहुरियाले करिब एक घण्टाको प्रदर्शनको समयमा उठान गरेका प्रश्नले नेपाली समाजको वर्तमानको मथिङ्गल खल्बल्याउने प्रयास गरेको छ भन्दा अन्यथा ठहर्दैन । एउटा अँध्यारो बन्द कोठाभित्र प्रारम्भ भएर त्यही कोठाभित्रको लगातारको झिँगाको भुनभुन, लालटेनको मधुरो उज्यालो, सिलाई मेसिन, सानो चौकी (खाट), दराज, खानाको थाल अनि अत्यासलाग्दो उकुसमुकुस, सकसपूर्ण वातावरण, अनिश्चितता, मानसिक र शारीरिक द्वन्द्व, अनेकन डोरीहरूले निर्माण गरेको मनोवैज्ञानिक कारागार, कठपुतलीको व्यङ्ग्यसँगै अन्त्य भएको छ बहुरिया । बहुरिया अर्थात् कसैकी छोरी, कसैकी श्रीमती, कसैकी बुहारी । तर, बहुरियाकी कहुरियाले मातृसुख भने भोग्न पाएकी छैनन् । विवाहको चार वर्ष भइसक्दा पनि पतिले उनको शरीर छुन चाहेको छैन । किन ? यही प्रश्नको उत्तरको खोजीले नाटकलाई डो¥याउने प्रयत्न गरेको छ । बहुरिया स्वयंमा प्रयोग त हो नै सँगसँगै आँट, सङ्घर्ष, विद्यमान सामाजिक संरचनामाथिको प्रहार, विद्रोह र आवश्यक–अनिवार्य बहस पनि हो । अनेकन प्रश्नको उत्तर खोज्ने प्रयत्न पनि हो बहुरिया । 

बहुरियाको लेखक–निर्देशक हुनुहुन्छ सुरज यादव । नाटकको शीर्ष भूमिकामा स्वयं सुरज र प्रशंसा सिवाकोटी हुनुहुन्छ । यही दुई पात्रले नाटकलाई प्रारम्भ गर्दै अन्त्यसम्मको यात्रा गरेका छन् । नाटकको निर्देशकका रुपमा सुरजको भूमिका जति महत्वपूर्ण छ त्यति नै महत्वपूर्ण छ रचनात्मक निर्देशकको भूमिका निर्वाह गर्ने सरिता गिरीको । सुरज लेखक पनि भएकाले उहाँको निर्देशकीय भूमिका लेखकको मनोभावबाट धेरै हदसम्म प्रभावित भएको हुनसक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । तर गिरीको प्रयासले नाटकमा प्रभाव उत्पन्न गर्न महत्वपूर्ण योगदान निर्वाह गरेको कुराको साक्षी, मञ्चभरि विभिन्न अवस्थामा विद्यमान कठपुतलीहरू हुन् । अनि, अनेकौँ विषयको प्रतीक बनेर प्रस्तुत भएको छ धुवाँ । नाटकमा अनेकौँ यस्तो अवस्था आउँछ जसको सम्बोधन धुवाँमार्फत गर्ने प्रयत्न गरिएको छ । धुवाँ कहिले अनिश्चय, भ्रम त कहिले व्यङ्ग्य अनि कहिले स्वरहीन अभिव्यक्तिका रुपमा प्रस्तुत भएको छ । निश्चय गिरीको प्रयास महत्वपूर्ण छ ।

अभिभावक सामु समयमा आफ्ना कुरा व्यक्त गर्न नसकेर आज्ञाकारी सन्तानको कथित मर्यादा कायम गर्ने सन्दर्भमा एकजना युवक (रामचरण)ले एक युवती (सीता)सँग विवाह गर्छ । विवाहका लागि मानसिक रुपमा तयार नरहेको युवक विवाह हुनेबित्तिकै भाग्छ र चार वर्षपछि सम्पर्कमा आउँछ । युवती भने पतिको प्रतीक्षा गरिरहेकी हुन्छिन् । युवक फेरि भाग्न सक्ने डरले घरपरिवारका मानिसले उसलाई बाँधेर कोठाभित्र राख्छन् । त्यही कोठाभित्र उक्त युवक र युवतिबिच मानसिक र मनोवैज्ञानिक द्वन्द्व हुन्छ । उनीहरूबिचको सबै संवाद यसैसँग सम्बन्धित छन् । कतिपय ठाउँमा सामान्य लाग्ने संवाद कतिपय ठाउँमा बोझिला प्रतीत हुन्छन् । रामायणका पात्र राम र सीतालाई प्रतीक मानी यस नाटकका दुई पात्र यसै नाममा प्रस्तुत छन् र ती पात्रबिचका केही संवादमार्फत रामायणकै सन्देशबारे पनि प्रश्न उठान गर्ने प्रयत्न गरिएको छ । अन्त्यमा युवकले आफूले विवाह बन्धनबाट मुक्ति चाहेको याचना गर्दछ र निकै मार्मिक मनोदशाको अभिव्यक्तिपछि युवतीले युवकलाई बन्द कोठाबाट मुक्ति गरिदिन्छिन् । रामायणमा राम घरमा बसेर सीता बाहिरिएको सन्दर्भ विपरीत यस नाटकमा सीता घरमा बसेर राम पात्र बाहिरिन्छ र नाटक समाप्त हुन्छ । मूलतः नाटकको कथा यति नै भए पनि यसलाई नाटकीय ढङ्गले प्रस्तुत गरिएको छ ।         

मिथिला–मधेशको मूल कथावस्तुलाई नेपाली भाषाका माध्यमबाट मैथिली र नेपाली भाषा, संस्कृति, धरातलीय यथार्थलाई ‘फ्युजन’ गरी प्रस्तुत गरिएको नाटक मूलतः नारी मनोविज्ञानको सेरोफेरोमा केन्द्रित छ । पृष्ठभूमि मिथिलाञ्चलको छ । मिथिला संस्कृति झल्किने गीत–सङ्गीत र प्रचलन प्रदर्शित छन् । नाटकको भाषा नेपाली छ तर थोरै मैथिली भाषा र भाव मिसिएको छ । नाटक हो, केही नाटकीयतालाई स्वाभाविक नै मान्नुपर्छ तर नाटकले नारीको मनोभाव, आवश्यकता, इच्छा–आकाङ्क्षा, समर्पण, त्याग, विद्रोहलाई  सशक्त अभिव्यक्तिको स्वर प्रदान गर्ने प्रयास गरेको छ । मनोदशाको सूक्ष्म विश्लेषणमार्फत नारी अभिव्यक्तिको प्रयास यस नाटकमा जति महत्वपूर्ण छ त्यति नै आफ्नाबारेमा निर्णय गर्न पाउने पुरुष अधिकारको सन्दर्भ पनि महत्वपूर्ण छ । 

मिहिन ढङ्गले नाटकको कथावस्तुको विश्लेषण गर्ने हो भने परम्परादेखि चल्दै आएको पारिवारिक दबाबको शिकार युवक र युवती दुवै भएको पाउन सकिन्छ । यस दृष्टिले भन्ने हो भने पृष्ठभूमि  मिथिला र मधेश भए पनि नाटकको कथा समग्र नेपाली समाजसँग सम्बन्धित छ । निश्चय पनि हाम्रो समाज पुरुष प्रधान छ । हाम्रा धेरैजसो निर्णय यसै मनोदशाबाट हुन्छन् । तर पितृसत्तात्मक संरचनाको असर महिलामाथि मात्र पर्छ ? यस नाटकले प्रश्न गरेको छ । सँगै, के पुरुषका इच्छाको मात्र महत्व हुन्छ ? महिलाको इच्छाको कुनै महत्व हुँदैन भन्ने प्रश्नको उत्तर खोज्न पनि नाटकले प्रेरित गरेको छ ।   

स्वयं लेखक–निर्देशक सुरजका अनुसार नाटकमार्फत विवाह गरेर अर्को घरमा जाने एउटी केटीले आफ्नो आशाअनुसारको श्रीमान् वा परिवार नपाउँदा भोग्नुपर्ने मानसिक पीडा, सामाजिक दबाब र असहजतालाई देखाउन खोजिएको छ । त्यस्तै केटा र केटी दुवैले आफ्नो इच्छा विपरीत विवाह गर्दा र स्वतन्त्रता नपाउँदा जीवनमा पर्ने मनोवैज्ञानिक असर, भावनात्मक चोट र सङ्घर्षलाई नाटकको विषयवस्तु बनाउन खोजिएको छ ।

नाटकमा उत्सुकता छ । रोमाञ्च छ । थ्रिलर छ । स्रष्टा विजय बरालका अनुसार कथाका रहस्यहरू खोतलिँदै जाँदा पैदा हुने कौतुहलताले दर्शकलाई निरन्तर सक्रिय बनाइरहन्छ । नाटकको रचनात्मक निर्देशक रहनुभएकी सरिता गिरीको भनाइ अत्यन्तै महत्वपूर्ण छ–आध्याँरो घरभित्र भित्तामा टाँसिएको कठपुतली, चुल्हो निभेको धुवाँ जस्तै हाम्रा सम्बन्ध निस्सासिएको छ आज । यो सम्बन्ध न प्रेम मात्रै हो, न द्वन्द्व, सम्बन्धका रङहरू यी भित्तामा झुन्ड्याइएका कठपुतलीजस्ता । 

नाटकको सार गिरीले भनेजस्तै त हो तर फेरि पनि प्रश्न उठ्छ–कठपुतलीको सञ्चालक को हो ? नाटकका पात्रलाई झैँ कठपुतली कसले नचाइरहेको छ ? नाटकको एक दृश्यमा बहुरिया (सीता) पात्रले दुई वटा पुतली (सायद पुरुष र महिलाका प्रतीक) लाई खेलाउँदै प्रवाहित गर्न खोजेको व्यङ्ग्यात्मक सन्देश निकै महत्वपूर्ण छ ।      

सङ्क्षेपमा भन्नुपर्दा, सन्देश प्रवाहमा नाटक पूर्ण सफल छ । सुरज र प्रशंसाको अभिनय सशक्त छ । निर्देशन ठीकठाक छ । कतिपय दृश्यमा कलाकार अति नाटकीयताबाट प्रभावित भएका हुन् कि भन्ने भान हुन्छ । कतिपय ठाउँमा हाँसो र रोदनका दृश्य असान्दर्भिक छन् कि भन्ने प्रश्न उठ्छन् । नाटक हो, प्रत्येक प्रदर्शनमा निर्देशकीय सुधार र परिवर्तनको सम्भावना त रहन्छ नै । भविष्यका प्रदर्शनहरू थप परिष्कृत हुने आश गर्नु अस्वभाविक हुँदैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button