रेडियो नेपालको ७६औँ वार्षिकोत्सवको अवसरमा पोखरामा रक्तदान कार्यक्रम

पोखरा। सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको ७६औँ वार्षिकोत्सवको अवसरमा प्रादेशिक प्रसारण कार्यालय पोखराले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रमबाट २१ युनिट रक्त सङ्कलन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका निवर्तमान सभापति दण्डराज शर्मा पौडेलले पहिलो रक्तदाता अविनाश लम्साललाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै उहाँले गण्डकी प्रदेशमा निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था सकारात्मक भएको उल्लेख गर्दै रगतको विकल्प अन्य कुनै तत्त्व वा औषधिले पूर्ति गर्न नसक्ने हुँदा यस्तो अभियान आवश्यक भएको बताउनु भयो । कार्यक्रममा रेडियो नेपालका कर्मचारी, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको प्रशासकीय अधिकृत एवं कार्यक्रम संयोजक प्रमिला सुवेदीले जानकारी दिनुभयो ।
रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखराका प्रमुख शान्ती गुरुङको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदानसहित विभिन्न कार्यक्रमहरू आयोजना गर्दै वार्षिकोत्सव मनाइरहेको प्रमुख गुरुङले जनाउनु भयो ।

यस अवसरमा वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ भने यसअघि ब्याडमिन्टन लगायतका विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको थियो । वार्षिकोत्सव कार्यक्रम अन्तर्गत हाजिरी जवाफ, काव्य गोष्ठी, म्युजिकल चेयर लगायतका कार्यक्रमहरू रहेको रेडियोकर्मी पूर्णिमा पराजुलीले बताउनुभयो।








प्रतिक्रिया राख्नुहोस्