तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सभा बैठक चैत्र २४ गते आह्वान गर्ने मन्त्रिपरिषद्को निर्णय  

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन बैठक आह्वान गर्ने निर्णय गरेको छ । बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी चैत २४ गते मङ्गलवार दिउँसो ४ः०० बजे बस्ने गरी प्रदेश सभाको हिउँदे अधिवेशन बैठक आव्हान गर्ने निर्णय गरेका हो । 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बस्न नसकेको बैठक ९ महिनापछि बस्न लगेको हो । गत साउन २७ गते बसेको प्रदेशसभाको बैठक त्यसयता बस्न नसक्दा सरकारले प्रदेश सभाको वर्षे अधिवेशन गत मङ्सिर ३ गते अन्त्य गर्ने निर्णय गरेको थियो । प्रदेश सभाको आगामी बैठक हेटौँडा उपमहानगरपालिकाको हलमा अस्थायी रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । यस्तै, आजको बैठकले आगामी वर्षका लागि क्यालेन्डर व्यवस्थित गर्दै वि.स. २०८३ सालको सार्वजनिक बिदाको सूची समेत स्वीकृत गरिएको सरकारका प्रवक्ता समेत रहनु भएका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।  

यस्तै आजको बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित सदस्यहरू र बालेन्द्र शाहको नेतृत्वमा गठित संघीय सरकारलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । निर्वाचन प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने मतदाता, सुरक्षाकर्मी, कर्मचारी र पत्रकारहरूलाई समेत बैठकले विशेष धन्यवाद ज्ञापन गरेको प्रवक्ता तामाङले बताउनुभयो । 

त्यस्तै आजको बैठकले स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउन मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम (पहिलो संशोधन) कार्यविधि २०८२ र दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालन सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ । भने, पूर्वाधारतर्फ ’बहुवर्षीय ठेक्का मापदण्ड २०८२’ लाई संशोधन गर्ने र जग्गा विकासका लागि नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय भएको उहाँले बताउनुभयो । यस्तै बैठकले प्रदेश निजामती सेवा नियमावली २०८२ र बागमती प्रदेश विश्वविद्यालय (पहिलो संशोधन) २०८२ स्वीकृत गर्नुका साथै विज्ञापन बजारलाई व्यवस्थित गर्न ’बागमती प्रदेश विज्ञापन नियमन गर्ने निर्देशिका २०८२’ पारित गरेको प्रवक्ता तामाङले बताउनुभयो । 

बैठकले कृषि सेवाका ११औँ तहका कर्मचारी गौरीमान श्रेष्ठलाई अनिवार्य अवकाश दिने र ११औँ तहका इन्जिनियर राजु श्रेष्ठ र नवीन सिंहलाई भौतिक पूर्वाधार मन्त्रालयमा पदस्थापन तथा पद मिलान गर्ने निर्णय गरेको साथै कृषि मन्त्रालयमा रिक्त रहेको सचिव पदमा तत्कालका लागि निमित्त सचिव तोक्ने निर्णय भएको उहाँले बताउनुभयो । 

उहाँले परीक्षा प्रणालीलाई निष्पक्ष र मर्यादित बनाउन यस्ता गतिविधि नियन्त्रणमा कडाइ गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button