इलाम–१: मतदाताको ध्यान विकास र जवाफदेहितामा केन्द्रित
इलाम। इलाम–१ मा प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा मतदाताको ध्यान पार्टीभन्दा बढी विकास, कृषि, पूर्वाधार र जवाफदेहितामा केन्द्रित भएको छ।

माइजोगमाई गाउँपालिका वडा नम्बर २ का ७३ वर्षीय हर्कबहादुर राईले मतदाताको चासो र चिन्ता स्पष्ट गर्दै उम्मेदवारको प्रचारभन्दा बढी जनताको वास्तविक आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएका छन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रका रूपमा चिनिने इलाम–१ मा हाल चुनावी गतिविधि तीव्र बनेका छन्। विगतमा नेकपा एमालेको प्रभाव रहेको यस क्षेत्रमा यस पटकको परिणामले नयाँ राजनीतिक समीकरण देखाउने कि भन्ने विषयमा मतदाता उत्सुक देखिन्छन्। १३ राजनीतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा ठूला दल नेकपा एमाले, नेपाली काँग्रेस र नेपाली कम्युनिस्ट पार्टीबीच हुने आङ्कलन गरिएको छ।
स्थानीय तह निर्वाचन र अघिल्ला प्रतिनिधिसभा चुनावका मत परिणामलाई आधार मान्दा नयाँ दलभन्दा परम्परागत दलकै मत आधार बलियो देखिए पनि मतदाताले यस पटक पार्टीभन्दा पनि विकासका ठोस योजना, जबाफदेहिता र निरन्तर जनसम्पर्कलाई प्राथमिकतामा राखेका छन्।
इलाम–१ भौतिक पूर्वाधार, कृषि उत्पादन र पर्यटन सम्भावनाका हिसाबले इलाम–२ भन्दा अघि मानिन्छ। चिया, दूध, दुग्धजन्य पदार्थ, आलु, अदुवा, अम्लिसो, अकबरेलगायतका उत्पादनले यहाँको अर्थतन्त्र धानेका छन्। तर किसानले उचित मूल्य नपाउने, दूध र चियाको बजार व्यवस्थापन कमजोर हुने, सडक, खानेपानी, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा अझै सुधार आवश्यक रहेको गुनासो मतदाताबाट उठिरहेको छ। यही कारण कृषि प्रवर्द्धन, किसानलाई आत्मनिर्भर बनाउने कार्यक्रम र पर्यटन पूर्वाधार विकास सबै उम्मेदवारका साझा मुद्दा बनेका छन्।
यस पटक इलाम–१ बाट प्रतिनिधिसभाका लागि अधिकांश उम्मेदवार नयाँ
नेपाली कांग्रेसका उम्मेदवार निश्चल राई यस पटक पार्टीले अघि सारेको युवा पुस्ताका प्रतिनिधि मानिन्छन्। लामो समयदेखि पार्टी सङ्गठनमा सक्रिय रहँदै आएका राईले इलाम–१ का गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। उनले युवाको रोजगारी, कृषि आधुनिकीकरण, चिया तथा दुग्ध उत्पादनको बजारीकरण, पर्यटन पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य सेवाको विस्तारलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन्। घरदैलो र साना छलफलमार्फत मतदातासँग नजिकिन खोजिरहेको उनको अभियानलाई काँग्रेसको पुस्तान्तरण प्रयासका रूपमा पनि हेरिएको छ।
त्यस्तै नेकपा एमाले का उम्मेदवार काजीमान कागते यसअघि कोसी प्रदेशसभामा प्रतिनिधित्व गरिसकेका व्यक्ति हुन्। चिया किसान क्षेत्रसँग जोडिएका उनी ग्रामीण अर्थतन्त्र मजबुत बनाउने एजेन्डासहित चुनावी मैदानमा छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रणबहादुर राई सूर्योदय नगरपालिकाको दुई कार्यकाल प्रमुख भइसकेका नेता हुन्। स्थानीय तहमा विकासको अनुभव बोकेर सङ्घीय राजनीतिमा प्रवेश गरेका उनी पनि प्रतिस्पर्धामा प्रभावशाली मानिन्छन्।
अघिल्लो निर्वाचनमा इलाम–१ बाट एमाले उम्मेदवार विजयी भएका थिए भने पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित भएका थिए। यस पटकको परिणामले त्यो समीकरण दोहोरिन्छ कि नयाँ मोड लिन्छ भन्नेमा स्थानीयको ध्यान केन्द्रित छ।
गाउँ–गाउँमा भइरहेका चुनावी भेटघाट र छलफलमा मतदाताले आफ्ना अपेक्षा खुलस्त राख्दै आएका छन्। वृद्धदेखि युवासम्मले रोजगारी, कृषि, पूर्वाधार र सेवामा सुधार चाहिएको बताएका छन्। निर्वाचन नजिकिँदै जाँदा इलाम–१ मा राजनीतिक सरगर्मी थप बढ्दै गएको देखिन्छ।
यस पटक इलाम–१मा ज्वाला नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, तुलसी केशरी प्रजापतिले नेपाल मजदुर किसान पार्टीबाट, बुद्ध लाल मेचेलाई मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट, राम प्रसाद लिम्बुले संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीबाट, बिमल गदालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट, लिला बहादुर सुन्दर जनता समाजवादी पार्टी (एकल चुनाव चिन्ह)बाट, डम्बर सिंह लिम्बुले नेपाल जनमुक्ति पार्टीबाट, विनोद नेम्वाङ लिम्बुले श्रम संस्कृति पार्टीबाट, नारदमणि साङपाङले नेपाल कम्युनिस्ट पार्टी ९माओवादी०बाट र हरि बहादुर गुरुङले उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गरेका छन्।







प्रतिक्रिया राख्नुहोस्