तपाईँ सुन्दै हुनुहुन्छः

समृद्धिको मार्ग बन्दै कर्णाली करिडोर: पिलुचौर–कवाडी खण्ड कालोपत्रे हुँदै

बाजुरा। सुदूरपश्चिम र कर्णाली क्षेत्रको समृद्धिको मेरुदण्डका रूपमा हेरिँदै आएको कर्णाली करिडोर अन्तर्गत बाजुराको पिलुचौरदेखि कवाडीसम्मको सडकखण्ड कालोपत्रे हुने भएपछि स्थानीयवासीमा खुसी छाएको छ । 

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित पीएस कन्स्ट्रक्सन कम्पनीले १ सय १२ करोड रुपैयाँको लागतमा उक्त सडक निर्माण कार्य अघि बढाइरहेको छ ।

वर्षौँदेखि धुलो, हिलो र जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीयवासीका लागि कालोपत्रे सडक सपना जस्तै थियो ।तर अहिले पिलुचौर–कवाडी सडक कालोपत्रे हुने निश्चित भएपछि हिमाली गाउँपालिका लगायत आसपासका क्षेत्रका बासिन्दा उत्साहित भएका छन् । स्थानीयका अनुसार सडक कालोपत्रे भएपछि यातायात सहज हुने मात्र होइन, स्वास्थ्य, शिक्षा, व्यापार र रोजगारीका अवसरसमेत बढ्ने अपेक्षा गरिएको छ ।

कर्णाली करिडोर नेपाललाई चीनसँग सहज सडक सञ्जालमार्फत जोड्ने महत्त्वपूर्ण मार्ग हो । यो करिडोर पूर्ण रूपमा सञ्चालनमा आएपछि उत्तरी नाका हुँदै व्यापार, पर्यटन र आवतजावत सहज भई समग्र आर्थिक विकासमा ठुलो योगदान पुग्ने विश्वास लिइएको छ । बाजुराजस्ता दुर्गम हिमाली जिल्लाका लागि यो सडक जीवनरेखा सावित हुने स्थानीयको भनाइ छ ।

हिमाली गाउँपालिकाका स्थानीय राजबहादुर थापाका अनुसार पक्की सडकको पहुँचमा पुग्न पाउँदा दैनिक जीवन नै सहज हुने भएको छ । “अहिलेसम्म बिरामी बोक्न, दैनिक उपभोग्य सामग्री ल्याउन निकै सास्ती थियो । सडक कालोपत्रे भएपछि यात्रा सुरक्षित र छिटो हुनेछ,” उहाँले खुसी व्यक्त गर्नुभयो ।

सडक निर्माणले कृषकलाई पनि प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ । स्थानीय उत्पादन सजिलै बजारसम्म पुर्‍याउन सकिने भएपछि कृषि व्यवसाय विस्तार हुने र किसानको आम्दानी बढ्ने विश्वास गरिएको छ । साथै, सडकसँगै होटल, पसल, सेवा व्यवसाय फस्टाउने र स्थानीय रोजगारी सिर्जना हुने सम्भावना बढ्ने देखिएको छ ।

निर्माण कम्पनी पीएस कन्स्ट्रक्सनले तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। कर्णाली करिडोरको यो खण्ड सम्पन्न भएपछि बाजुरा मात्र होइन, समग्र कर्णाली र सुदूरपश्चिम क्षेत्रको विकासले नयाँ गति लिने अपेक्षा गरिएको छ ।

दुर्गम पहाड र हिमाली बस्तीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने यो मार्ग वास्तवमै समृद्धिको ढोका खोल्ने परियोजनाका रूपमा हेरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button