बाँके-२ मा नयाँ अनुहारहरुबीच रोचक प्रतिस्पर्धा, राईलाई नयाँकै चुनौती

नेपालगञ्ज । बाँके क्षेत्र नम्बर २ मा पनि आगामी निर्वाचनको सरगर्मी बढ्दै गएको छ । फागुन २१ गते हुने निर्वाचनमा यस क्षेत्रमा २० जना उम्मेदवारहरूको बीचमा प्रतिस्पर्धा छ । यहाँ सबैजसो नयाँ अनुहार चुनावी दौडमा छन् ।
नेपाली काँग्रेसबाट सुधांशु कोइराला, नेकपाबाट दिपेन्द्र विष्ट, राप्रपा र रास्वपा जस्ता दलहरूले पनि नयाँ उम्मेदवारहरूलाई अगाडि ल्याएका छन् । रास्वपाबाट विवेक कुमार श्रेष्ठ र राप्रपाबाट ऋषिराज देवकोटा प्रतिस्पर्धामा हुनुहुन्छ । प्रमुख दलहरूको उम्मेदवार प्रायः युवा उमेरका रहेका छन् । जसपा नेपालले पनि नेपालगञ्जका उपमेयर रहनुभएका कमरुद्दिन राईलाई उम्मेदवार बनाएको छ । उहाँ उपमेयर पदबाट राजीनामा दिएर चुनावमा होमिनुभएको हो ।
नेकपा एमालेबाट उम्मेदवार मोहम्मद इश्तियाक राई, जो २०७४ मा यस क्षेत्रबाट सांसद निर्वाचित हुनुभएको थियो, यसपटक पनि प्रमुख प्रतिस्पर्धीका रुपमा हुनुहुन्छ । उहाँले २०६४ को पहिलो संविधानसभामा पनि साविक २ नम्बर क्षेत्रबाट जित हासिल गर्नुभएको थियो । उहाँले पटक(पटक मन्त्री पद पनि सम्हाल्नुभएको छ । २०७९ मा भने उहाँ राप्रपाका डा। धवल शमशेर राणासँग पराजित हुनुभएको थियो । जसपाका राई एमालेको सूर्य चुनाव चिन्हबाट निर्वाचन लड्न लाग्नुभएको हो । तर, यस पटक राईका लागि चुनौती बनेका छन् नयाँ अनुहारहरू, जो युवा उम्मेदवारका रूपमा आएका छन् । क्षेत्र नम्बर २ का उम्मेदवारहरूले विकास, सुशासन, रोजगारी लगायतका मुद्दालाई चुनावी एजेण्डा बनाएका छन् ।
बाँके क्षेत्र नम्बर २ मा ५७ हजार ११७ पुरुष, ५१ हजार १६७ महिला र ६ अन्यसहित कूल १ लाख ८ हजार २९० मतदाता रहेका छन् । निर्वाचनमा ४३ वटा मतदानस्थल र १२४ मतदान केन्द्रको व्यवस्था गरिएको छ । बाँके क्षेत्र नम्बर २ लाई हरेक चुनावमा ठूलो चासोको साथ हेरिन्छ । यो त्यही क्षेत्र हो, जहाँबाट कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला २०७० सालको दोस्रो संविधानसभा चुनावमा निर्वाचित भई प्रधानमन्त्री समेत बन्नुभएको थियो । तर, रोचक के छ भने यो क्षेत्रले हरेक निर्वाचनमा प्रतिनिधि बदल्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्