प्रतिनिधिसभा सदस्य निर्वाचन : के चाहन्छन् भक्तपुरका मतदाता
माघ I फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै भक्तपुरका मतदातामा पनि निर्वाचनको चर्चा परिचर्चा शुरु भएको छ ।
दुईवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरका मतदाता आफ्नो क्षेत्रमा उठेका उम्मेदवार र राजनीतिक दलका एजेण्डाका विषयमा चर्चा परिचर्चा गरिरहेका भेटिन्छन् । विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू निर्वाचन लक्षित क्रियाकलापमा व्यस्त छन् ।

समय अगावै हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यसपटक उम्मेदवारका विषयमा सहर र गाउँमा मात्रै होइन, चोक र चिया पसलमा समेत आ–आफ्नो कोणबाट चर्चापरिचर्चा भइरहेको भएपनि निर्वाचन आचारसंहिता र प्रविधिको बढ्दो प्रयोगका कारण अहिले चुनाव प्रचारमा ‘डिजिटल शैली’ अपनाउन थालिएको छ ।
देशमा व्याप्त अनियमितता र भ्रष्टाचार विरुद्ध आवाज उठाइरहेका नागरिकहरू राजनीतिक दल र उम्मेदवार इमानदार हुनुपर्ने अपेक्षा गरिरहेका छन् ।
कृषि क्षेत्रको विकास, रोजगारीको सिर्जना र युवा पलायन हुनबाट रोक्ने गरी प्रभावकारी नीति निर्माण गर्ने व्यक्तिहरूको छनोट गर्ने बताउनुहुन्छ, भक्तपुरका मतदाता शङ्कर श्रेष्ठ । उहाँ भन्नुहुन्छ “कृषि उत्पादनमा बढी ध्यान दिने, रोजगारी सिर्जना गर्ने, युवा पलायन रोकी देशमा नै बस्ने वातावरण बनाउने गरी नीति निर्माण गर्ने उम्मेदवार चुन्ने चाहना छ । ”
भक्तपुर निर्वाचन क्षेत्र नं १ मा १६ राजनीतिक दलका र ९ जना स्वतन्त्र उम्मेदवार गरेर २५ जना र निर्वाचन क्षेत्र नम्बर २ मा १७ राजनीतिक दल र १५ जना स्वतन्त्र गरी कुल ३२ जनाले मनोनयन दर्ता गराएर चुनावी अभियानमा होमिएका छन् ।
भक्तपुरको दुवै निर्वाचन क्षेत्रमा गरी दुई लाख पाँच हजार ४ सय १० मतदाता सङ्ख्या रहेको छ । ती मध्ये एक लाख पाँच हजार २ सय ६५ महिला, एक लाख १ सय ४० पुरुष तथा पाँच जना अन्य मतदाता रहेको रहेका छन् ।
यीनै मतदाता मध्येको अप्सरा कार्की र सुन्दर प्रजापति नीति नियम राम्रो बनाई त्यसलाई कार्यान्वयन गर्ने र आफ्नो ठाउँको विकास गर्ने व्यक्तिलाई मत दिने बताउनुहुन्छ ।
मध्यपुर ठिमीका प्रजापति “देशमा धेरै परिवर्तन भयो भनेपनि परिवर्तनको आभास जनतालाई अहिलेसम्म भएन, संसद् नीति निर्माण गर्ने संस्था हो तर जितेर जाने व्यक्तिले नीति निर्माणमा र देश निर्माणमा दिनुपर्ने हो तर भ्रष्टाचारतिर ध्यान बढ्यो यो रोकिनुपर्छ ” भन्नुहुन्छ ।
भक्तपुरका दुई वटा निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल र दुई सय ३३ मतदान केन्द्र निर्धारण गरी निर्वाचन क्षेत्र नम्बर १ मा १ सय १९ मतदान केन्द्र र निर्वाचन क्षेत्र नम्बर २ मा १ सय १४ मतदान केन्द्र तोकिएको छ ।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका एक लाख ७० हजार ५४ जना मतदाता रहेका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा मध्यपुर ठिमी नगरपालिका र सुर्यविनायक नगरपालिका ९८ हजार ३ सय ५६ मतादाता रहेका छन् ।
निर्वाचनबाट अब आउने नेतृत्वले आफ्ना क्षेत्रका लागि आवश्यक नीति तथा कानुन निर्माणका विषयमा संसदमा कुरा उठाउन सक्ने र जनताप्रति उत्तरदायी हुनुपर्ने भक्तपुरका मतदाताको जोड छ ।
भक्तपुरकै अर्का एक मतादाता प्रेमकृष्ण चक्रधर आफ्नो पुस्ताले दुःख पाएपनि आफ्नो छोरा नाति पुस्ताले सुख पाउने र उनीहरूले स्वदेशमा नै काम गरेर बस्ने वातावरण बनाउन सक्ने नेतृत्व आउनुपर्ने र त्यस्ता उम्मेदवार चुनेर पढाउने बताउनुहुन्छ ।
देश आम निर्वाचनको सम्मुखमा छ । जेन–जी विद्रोहबाट सिर्जित असाधारण राजनीतिक कोर्सका बीच सम्पन्न हुने यो निर्वाचन विगतका नियमित निर्वाचनहरूभन्दा फरक छ । यस पटकको प्रतिनिधिसभाको निर्वाचनले सामान्य राजनीतिक घटनाक्रमका रूपमा सीमित नभई विशिष्ट अर्थ राख्छ । त्यसकारण निर्वाचन जित्नकै लागि जस्तोसुकै कुरामा प्रतिबद्धता व्यक्त गर्ने भन्दा पनि सांसद भनेको सडक–पुल निर्माण गरिदिने माध्यम नभई नीति नियम र कानुनका निर्माता हुन् र यो विधायिकी निर्वाचन हो भनी मतदातालाई बुझाउन आवश्यक छ ।
के चाहन्छन् भक्तपुरका मतदाता (अडियाे रिपाेर्ट)








प्रतिक्रिया राख्नुहोस्