तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा मातृमृत्यु बढ्दो, समस्या सेवा होइन—पहुँच र अन्धविश्वास

बाँके। नेपालगन्ज उपमहानगरपालिका–१४ बालेगाउँमा बब्लु कबोडियाको घरअगाडि दुई नाबालक छोरी खटियाको वरिपरि खेलिरहेका छन् । घरबाट पाँच मिनेटको दूरीमा स्वास्थ्यचौकी छ, जहाँ गर्भजाँचदेखि सुत्केरीसम्मका सबै सेवा निःशुल्क छन् । तर यही घरकी समसा ती सेवासम्म कहिल्यै पुगिनन् । गर्भावस्थाको आठौँ महिनामा अत्यधिक रक्तस्राव भएपछि अस्पताल लगिँदा आमा र शिशु दुवैको ज्यान गयो ।

समसाको मृत्यु कुनै अपवाद होइन । पछिल्ला चार महिनामै बाँकेमा आठ आमाले गर्भावस्थामै ज्यान गुमाएका छन् । सडक, यातायात र ठूला अस्पतालको पहुँच रहेको लुम्बिनी प्रदेश अहिले मातृमृत्युको केन्द्र बन्दै गएको छ । देशभर हुने मातृमृत्युमध्ये झन्डै तेस्रो हिस्सा यही प्रदेशमा हुनु संयोग मात्रै होइन ।

खोज्दा देखिन्छ—यहाँ समस्या स्वास्थ्य सेवा अभाव होइन, महिलाको पहुँच अभाव हो । मुस्लिम, मधेशी र दलित समुदायको बाहुल्यता रहेका सीमावर्ती गाउँमा गर्भावस्था अझै पनि महिलाको निजी स्वास्थ्यभन्दा ‘घरभित्रको विषय’ मानिन्छ । अस्पताल जाने निर्णय महिलाले आफैँ गर्न सक्दैनन् ।

जानकी गाउँपालिकामा १८ वर्षदेखि काम गरिरहेकी स्वास्थ्य स्वयंसेविका गंगा पुन भन्छिन्, “गर्भवती महिलालाई पेट दुखे पनि पहिले श्रीमानलाई सोध्नुपर्छ । अस्पताल जानु उनीहरूका लागि अन्तिम विकल्प मात्रै हुन्छ।” वडा नम्बर ५ ले वडाको बजेटबाट क्यालसियम औषधि निःशुल्क वितरण सुरु गरेपछि भने स्वास्थ्य संस्थामा आउने महिलाको संख्या बढेको छ ।

‘आइरन खायो भने अपरेसन हुन्छ’ भन्ने भ्रम

यस क्षेत्रमा फैलिएको अन्धविश्वास झन् खतरनाक देखिन्छ । गर्भावस्थामा आइरन चक्की खाए बच्चा ठूलो हुन्छ र अपरेसन गर्नुपर्छ भन्ने भ्रम गहिरो छ । यही कारण महिलाहरू रक्तअल्पताबाट ग्रसित हुँदै जान्छन् ।

नरैनापुर–१ स्वास्थ्यचौकीकी अनमी सामना क्षेत्री गुरुङ भन्छिन्, “हामी आइरन चक्की दिन जाँदा कतिपय घरमा ढोका नै बन्द गरिन्छ । पुरुषहरू भन्छन्—‘चक्की खुवायो भने बच्चा ठूलो हुन्छ, अपरेसन गर्नुपर्छ, अनि परपुरुष डाक्टरले गोप्य अंग हेर्छन्।’ यही डरले महिलालाई अस्पताल लैजान दिइँदैन । मलाई लाग्छ, यहाँ धेरै महिलाको मृत्यु रोगले होइन, गलत मान्यताले भइरहेको छ ।”

उनका अनुसार ‘परपुरुषले छुनु हुँदैन’ भन्ने सोचका कारण घरमै सुत्केरी गराउने चलन अझै बलियो छ । तर जटिलता आएपछि ती महिलाले केही गर्न सक्दैनन् ।

ढिलो अस्पताल, ढिलो उपचार

जानकी गाउँपालिकाको साइगाउँ बर्थिङ सेन्टरकी अनमी माया बस्याल भन्छिन्, “घरमै सम्भव नभएपछि मात्रै बर्थिङ सेन्टर ल्याइन्छ । यहाँबाट अस्पताल रेफर गर्दा धेरै ढिलो भइसकेको हुन्छ ।”

भेरी अस्पतालको प्रसूति गृहमा पुग्ने अधिकांश सुत्केरी महिलाको अवस्था गम्भीर हुने गरेको अस्पताल स्रोत बताउँछ । रक्तअल्पता, उच्च रक्तचाप र अत्यधिक रक्तस्रावका कारण उनीहरू अस्पताल ल्याइँदा बचाउने समय सकिइसकेको हुन्छ ।

अस्पतालमै मृत्युले उठायो प्रश्न

भेरी अस्पतालमै सीमा धोबीको मृत्युले स्वास्थ्य प्रणालीमाथि थप प्रश्न उठाएको छ । नियमित जाँच गराएकी र आइरन खाएकी सीमा अस्पतालमै सुत्केरी भएकी थिइन् । तर शय्या अभाव, ढिलाइ र व्यवस्थापन कमजोरीका कारण उनको ज्यान जोगिएन ।

भेरी अस्पतालकी लेबर रुम इञ्चार्ज शिला शर्मा भन्छिन्, “हामीकहाँ आउने धेरै केस अन्तिम अवस्थामा हुन्छन् । रक्तअल्पता भएको, धेरै रगत बगिसकेको अवस्थामा ल्याइन्छ । यस्तो बेला सबै प्रयास गर्दा पनि सबैलाई बचाउन सम्भव हुँदैन ।”

किन लुम्बिनीमै बढी मातृमृत्यु ?

स्वास्थ्यकर्मीका अनुसार लुम्बिनी प्रदेशमा गर्भवती महिलामध्ये ठूलो हिस्सा रक्तअल्पताबाट पीडित छन् । यही कारण सुत्केरीपछि अत्यधिक रक्तस्राव भई मृत्यु हुने सम्भावना बढेको छ । दुर्गम कर्णाली प्रदेशभन्दा पनि यहाँ मातृमृत्यु दर बढी हुनु चिन्ताजनक तथ्य हो ।

दशकौँदेखि चलेका सामुदायिक सचेतना कार्यक्रम पछिल्लो समय कमजोर बन्दै गएका छन् । यूएसएडजस्ता दातृ निकायको सहयोग कटौती भएपछि घरघर पुगेर चेतना फैलाउने काम प्रभावित भएको स्थानीय स्वास्थ्यकर्मीहरू बताउँछन् ।

नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द भन्छन्, “पछिल्ला चार महिनाको तथ्यांक निकै गम्भीर छ । अन्तर्राष्ट्रिय सहयोग घटेको अवस्थामा स्थानीय सरकारले थप चासो दिनुपर्ने हो, तर त्यो देखिँदैन ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button