बैतडीमा जन्ती बोकेको बस दुर्घटना: मृतक संख्या १३ पुग्यो
बैतडी।बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। गम्भीर घाइते भएका थप पाँच जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका–७ का बिसनदत्त जोशी, २८ वर्षीय दिपकदत्त जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बैतडीको पुर्चौडी नगरपालिका–७ का १४ वर्षीय सुशील जोशी र केदारस्यू गाउँपालिकाका २६ वर्षीय केशवराज भट्ट रहेका छन्।
यसअघि घटनास्थलमै मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशी रहेका छन्। त्यस्तै, केदारस्यू गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला र बैतडीको पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी दिपक कुमार रायले जानकारी दिनुभयो।
दुर्घटनामा घाइते भएका अन्य ३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये गम्भीर अवस्थामा रहेका पाँच जनालाई धनगढी रेफर गरिएको छ।
बैतडीको पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढगाउँ मोडमा हिजो राति करिब ८ बजे पवनदूत यातायातको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको थियो।








प्रतिक्रिया राख्नुहोस्