दैलेखका तीन हजारभन्दा बढी किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै

दैलेख । दैलेखमा तीन हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ ।
जिल्लाका ११ पालिकाका ३ हजार ४ सय ८२ किशोरीलाई खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
विद्यालयमा अध्ययनरत ३ हजार १ सय ८४ छात्रा र २ सय ९८ विद्यालय बाहिर रहेका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा.मनोज विश्वकर्माले जानकारी दिनुभयो ।
यही माघ २५ गतेदेखि फागुन ३ गतेसम्म दुई चरणमा एचपीभी खोप लगाउन लागिएको कार्यालय प्रमुख डा.विश्वकर्माले बताउनुभयो । खोपले एचपीभी प्रजाति १६ र १८ को कारणबाट सङ्क्रमण हुने पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने डा.विश्वकर्माले बताउनुभयो ।
एचपीभी खोप ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो । यो खोप १० वर्षदेखि १४ वर्ष उमेरका किशोरीलाई १ मात्रा दिनुपर्दछ । कक्षा ६ मा अध्ययन गर्ने छात्राहरू र विद्यालय नजाने १० देखी १४ वर्ष उमेरका किशोरीहरूलाई खोप लगाइने खोप अधिकृत रेग्मीले बताउनुभयो । उहाँले कार्यालयले ‘खोज र खोप’ नीति लिएको कोही किशोरी पनि खोपबाट वञ्चित नहुने बताउनुभयो ।
सदरमुकाममा सम्पन्न जिल्ला खोप समन्वय समितिको बैठकले खोप अभियानलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने निर्णय गरेको छ ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख शाहीले खोप अभियानलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, पत्रकार, जनप्रतिनिधि, विद्यालय र शिक्षकहरूले महत्त्वपूर्ण भूमिका खेल्न अनुरोध गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्