बाजुरा निर्वाचन: उम्मेदवारलाई मतदाता फकाउनै मुस्किल
बाजुरा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा चुनावी सरगर्मी बढ्दै गएको छ।

निर्वाचन मिति नजिकिँदै जाँदा जिल्लाका उम्मेदवारहरू मतदाता भेटघाट तथा घरदैलो अभियानमा व्यस्त छन् । घरदैलोका क्रममा उम्मेदवारहरूले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी तथा समग्र विकासका प्रतिबद्धता दोहोर्याइरहेका छन् । तर यसपटक विगतका चुनावजस्तो सहज रूपमा मतदातालाई विश्वस्त पार्न उम्मेदवारहरूलाई कठिन देखिएको छ ।

पटक पटक सुनिएका आश्वासनहरू कार्यान्वयन नहुँदा मतदाता नेताका गफभन्दा उनीहरूले के गरे र अब के गर्छन् भन्ने विषयमा प्रतिप्रश्न गर्न थालेका छन् । स्थानीय मतदाताहरू हरेक चुनावमा उस्तै कुरा दोहोर्याउने तर चुनाव सकिएपछि गाउँ फर्केर नआउने नेताप्रति असन्तुष्टि जनाउँदै आएका छन्। यही कारण यसपटक मतदातालाई विश्वास गर्न मुस्किल परेको छ।

त्रिवेणी नगरपालिका-९ का स्थानीय रण थापाका अनुसार ‘उम्मेदवार आउँछन्, जित्नका लागि आश्वासन बाँड्छन् र जितेपछि आफ्नै स्वार्थमा लाग्छन्’, अब नेताले सजिलै फकाउन नसक्ने अवस्था आएको छ ।
अब सजिलै फकिँदैनौँ
बडिमालिका नगरपालिका-५का स्थानीय गिठे मिजारले भन्नुभयो“उम्मेदवार आउँछन्, हामिलाई लट्याउँछन्, जितेपछि आफ्नै दुनो सोज्याउँछन्, अब सजिलै फकिँदैनौँ।”

घरदैलो अभियानका क्रममा जिल्लाका हरेक गाउँमा उम्मेदवारहरूले यस्तै प्रश्न र गुनासोको सामना गरिरहेका छन् । यसले मतदातामा राजनीतिक चेतना बढ्दै गएको र नेताबाट उत्तरदायित्व खोज्ने प्रवृत्ति बलियो बन्दै गएको देखाएको छ ।








प्रतिक्रिया राख्नुहोस्