तपाईँ सुन्दै हुनुहुन्छः

कार्यस्थलमा श्रमिक सुरक्षाबारे चासो कम हुँदा श्रमिक असुरक्षित

सुर्खेत । कारखाना तथा निर्माण क्षेत्रमा काम गर्ने कामदारलाई व्यवसायजन्य असुरक्षाका कारण स्वास्थ्य जोखिम उच्च रहेको पाइएको छ । 

व्यवसायजन्य सुरक्षाका बारेमा रोजगारदातासँगै रोजगार गर्ने स्वयं कामदार सचेत नहुँदा स्वास्थ्य जोखिम उच्च रहेको पाइएको हो । कारखाना तथा निर्माण क्षेत्रमा काम गर्ने कामदारलाई व्यवसायजन्य असुरक्षाका कारण ७९० भन्दा बढी प्रकारका रोगको जोखिम हुने गरेको बताइएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) सँगको सहकार्यमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘व्यवसायजन्य सुरक्षा र स्वास्थ्य’ बारे छलफल कार्यक्रममा कार्यस्थलमा श्रमिक सुरक्षाबारे चासो कम हुँदा कामदारले असुरक्षित भएर काम गर्नु परिरहेको सरोकारवालाले बताएका छन् । 

व्यावसायिक स्वास्थ्य सुरक्षा विज्ञ दिपक लामिछानेले कार्यक्षेत्रको अवस्थाका कारण कामदारहरूको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यलाई कायम राख्नु महत्वपूर्ण विषय रहेको बताउनुभयो । उहाँले सामान्य सुरक्षा सामग्री प्रयोग नगर्दा पनि कामदारको स्वास्थ्यमा दीर्घकालीन तथा तत्कालीन असरहरू देखा पर्ने गरेको जनाउनु भयो । 

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव सुवर्णकुमार खड्काले कार्यस्थल सुरक्षाका लागि श्रम ऐनले सम्बोधन गरे पनि कर्णालीका रोजगारदाताले कार्यान्वयन गर्न हेलचक्राई गरेको बताउनुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका उपाध्यक्ष हर्षविक्रम खड्काले कार्यस्थल क्षेत्रमा हुने दुर्घटना कम गर्ने हो भने सबै सरोकारवाला निकाय गम्भीर भएर लाग्नुपर्ने अवस्था रहेको बताउनुभयो । 

दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) का प्राविधिक संयोजक नरेशसिंह थारुले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको विषयसँगै स्वदेशमा रहेका श्रमिकको अवस्थालाई उत्तिकै रुपमा फराकिलो तरिकाले सम्बोधन गर्न आवश्यक रहेको औँल्याउनुभयो । 

कार्यक्रममा व्यावसायिक स्वास्थ्य सुरक्षा विज्ञ प्रकाश बराल, नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश सीप विकास इकाईका सदस्य पूर्णदेव अधिकारीसँगै कर्णालीका निर्माण तथा आइटी क्षेत्रका उद्यमी एवम् रोजगारदाताहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button