दैलेखमा यस वर्ष सुन्तला उत्पादनमा कमी
दैलेख। दैलेख जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ।

गत बर्ष ८ हजार ७ सय ७५ मेट्रिक टन उत्पादन भएको दैलेखमा यस वर्ष ७ हजार ९ सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । । गत वर्षको तुलनामा यस बर्ष करिब ८ सय ४० मेट्रिक टन सुन्तला कम उत्पादन भएको कृषि विकास कार्यालय दैलेखले जनाएको छ ।
सुन्तलाको बोट पुरानो हुँदै जानु, सिँचाइको अभाव लगायत कारण सुन्तला उत्पादन घटेको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले बताउनुभयो । उहाँले जिल्लामा यस वर्ष करिब ३६ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको बताउनुभयो । गत वर्ष करिब ४३ करोड ८७ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको उहाँको भनाई छ ।
कार्यालय प्रमुख पाण्डेले सुन्तलालाई मलजल, सिँचाई, काटँछाट जस्ता स्याहारसुसार उचित मात्रामा नहुँदा उत्पादनमा कमी आएको बताउनुभयो । उत्पादन निरन्तर घट्दै जाँदा कृषक निराश हुँदै गएको उहाँको भनाई छ । असिना पर्नु, सुन्तलामा विभिन्न किसिमको रोग लाग्नु लगायतका कारण सुन्तला उत्पादनमा कमी आएको पाण्डेको भनाई छ ।
यस्तै जिल्लामा अहिले बोट पुरानो हुँदा र समय अनुसार स्याहार नपुग्दा सुन्तला उत्पादन घटेको स्थानीय कृषक दुल्लु नगरपालिका ११ का खड्क बहादुर मल्लले बताउनुभयो । उहाँले यो बर्ष असिना परेकाले सुन्तला उत्पादन घटेको बताउनुभयो । गत वर्ष ५ लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेको र यस वर्ष ३ लाख बराबरको पनि सुन्तला बिक्री गर्न नसकिएको बताउनुभयो । आवश्यक प्राविधिक ज्ञान नहुँदा किसानले भनेजस्तो सुन्तला उत्पादन गर्न नसकेको कृषक मल्लले बताउनुभयो ।
यस वर्ष कृषि विकास कार्यालय दैलेखले बगैँचा व्यवस्थापन लागी सामाग्री वितरण गरी तालिम प्रदान गर्ने जानकारी दिएको छ । जिल्लाका तिन वटा स्थानीय तह चामुण्डाबिन्द्रासैनी र दुल्लु नगरपालिका तथा ठाँटिकाँध गाउँपालिकामा सुन्तला उत्पादन राम्रो हुने गरेको छ । दैलेखमा ११ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ भने ७ सय ४ हेक्टरमा लगाएको सुन्तलाले मात्र उत्पादन दिने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्