तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालको स्तरोन्नतिका लागि साझा पहल गर्ने सांसदहरूको प्रतिबद्धता

बाँके । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकको उपचारको प्रमुख केन्द्रका रूपमा रहेको भेरी अस्पताल नेपालगन्जको समग्र विकास र स्तरोन्नतिका लागि पश्चिम नेपालबाट प्रतिनिधित्व गर्ने सांसदहरूले सामूहिक पहल गर्नुपर्नेमा जोड दिइएको छ ।

भेरी अस्पताल नेपालगन्जले स्थापनाको १३६औँ वर्ष पूरा गरेको अवसरमा आज मङ्गलवार आयोजित वार्षिकोत्सव समारोहमा सहभागी वक्ताहरूले अस्पताललाई थप व्यवस्थित, प्रविधिमैत्री र विशेषज्ञ सेवासहितको स्वास्थ्य संस्थाका रूपमा विकास गर्न सामूहिक पहल आवश्यक रहेको बताएका हुन् ।

समारोहका प्रमुख अतिथि एवं प्रतिनिधिसभा सदस्य मोहम्मद ईश्तियाक राईले भेरी अस्पताल तीन प्रदेशका नागरिकको उपचारको प्रमुख केन्द्र भएकाले यसको विकासलाई साझा मुद्दाका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो ।

“भेरी अस्पतालका लागि विगतमा मन्त्री हुँदा गर्नुपर्ने पहल मैले गरेको हुँ,” कैलालीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य केपी खनालतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, “अहिले सरकार तपाईँहरूको पार्टीको छ र स्वास्थ्य मन्त्री पनि तपाईँहरूकै हुनुहुन्छ । त्यसैले भेरी अस्पतालको विकासका लागि संयुक्त रूपमा पहल गरौँ ।”

राईले विगतमा आफ्नो पहलमा भेरी अस्पतालका लागि रु। ३ अर्ब २५ करोड बजेट सुनिश्चित गर्न सफल भए पनि सरकार परिवर्तनसँगै उक्त बजेट कार्यान्वयन हुन नसकेको बताउनुभयो । उहाँले अस्पतालको आवश्यकता र क्षेत्रीय महत्वलाई ध्यानमा राखेर आगामी दिनमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा समेत सबै पक्षको साझा पहल आवश्यक रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा कैलालीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता केपी खनालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अस्पतालको स्तरोन्नतिका लागि सामूहिक रूपमा पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले स्वास्थ्य सेवा सुधारका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको जिकिर गर्नुभयो ।

भेरी अस्पतालमा ५० शय्याको ‘समता भवन’ निर्माण हुने भएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट अस्पताल परिसरमा समता भवन निर्माण गर्ने घोषणा गर्नु भयो ।

मन्त्री खत्रीले चालु आर्थिक वर्ष २०८३/०८४ मा ५० शय्याको समता भवन निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिँदै यसबाट विशेषगरी आमा तथा शिशु स्वास्थ्य सेवाको विस्तारमा सहयोग पुग्ने र मातृ तथा शिशु मृत्युदर न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भेरी अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डक्टप्रसाद धितालको सभापतित्वमा भएको वार्षिकोत्सव समारोहमा प्रतिनिधिसभा सदस्य सुरेशकुमार चौधरी, सुष्मा स्वार्णकार,लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्री, लुम्बिनी प्रदेशसभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति माया पुनलगायतले अस्पतालको सेवा विस्तार र स्तरोन्नतिका विषयमा धारणा राख्नु भएको थियो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले भेरी अस्पताल स्थापनाकालदेखि हालसम्म आइपुग्दा अस्पतालले स्वास्थ्य सेवाका क्षेत्रमा हासिल गरेका उपलब्धि, सामना गरेका चुनौती तथा आगामी योजनाबारे जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button