जुम्लामा ५२ मतदानस्थल अति संवेदनशील
जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा ८५ मतदानस्थल र ११० मतदान केन्द्र रहेका छन् । तीमध्ये ५२ मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रबिन बाबू रेग्मीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन मतदानस्थल र केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरिएको हो । ८५ मतदानस्थलमध्ये ५२ अति संवेदनशील, १८ संवेदनशील र १५ सामान्य रहेका छन् । यस्तै, ११० मतदान केन्द्रमध्ये ६४ अति संवेदनशील, २५ संवेदनशील र २१ सामान्यमा राखिएका छन् ।
भौगोलिक कठिनाइ, सूचना–सञ्चार पहुँचको अभाव र सम्भावित सुरक्षा चुनौतीलाई आधार मानेर वर्गीकरण गरिएको प्रहरीले जनाएको छ । एक नगरपालिका र सात गाउँपालिका रहेको जुम्लामा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा निर्वाचन प्रहरी परिचालन गरिने छ ।
जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार जिल्लामा कुल ७१ हजार ७३९ मतदाता छन् । तीमध्ये ३४ हजार २८० महिला र ३७ हजार ४५९ पुरुष मतदाता रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्