तपाईँ सुन्दै हुनुहुन्छः

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीको अपिल 

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आचार संहिताको पूर्ण पालना गरी आगामी निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।  

राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ माथिको छलफल उठेको विषयमा जवाफ दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन एउटा नियमित प्रक्रिया मात्रै नभई राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थान विन्दु बन्न सक्नुपर्ने बताउनुभयो । 

उहाँले फागुन २१ गते तोकिएको समयमा निर्वाचन स्वच्छ, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले सार्वजनिक निकायका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाई भ्रष्टाचार न्यूनीकरणमा पूर्ण प्रतिबद्धताका साथ सरकार लागिपरेको बताउनुभयो । 

प्रधानमन्त्री कार्कीले नेपाली युवा पुस्ताले मुलुकमा राज्यका स्रोत साधन र अवसरमा समान पहुँच, रोजगारी र गुणस्तरीय जीवनको आकाङ्क्षा राखेको बताउनुभयो ।

उहाँले प्रतिनिधि सभा नभएको अवस्थामा परिपक्व र बुज्रुकहरूको संस्थाको रुपमा लिने राष्ट्रिय सभा एवं स्थायी सदनबाट प्राप्त हुने निर्देशनहरूलाई सरकारले पालना गर्ने बताउनुभयो ।

उहाँले मुलुकमा व्याप्त भ्रष्टाचार, दण्डहीनता र अन्यायजस्ता संरचनात्मक कारणहरूको निवारणको लागि सबै निकाय एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले भविष्यमा भ्रष्टाचार शून्य नेपाल बनाउने महत्वपूर्ण दस्ताबेजका रुपमा सदाचार नीति आउने विश्वास व्यक्त समेत गर्नुभयो । 

बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ माथिको छलफलका लागि पेश गर्नुभएको थियो । 

प्रतिवेदन माथिको छलफलमा सांसदहरूले दिगो विकास र शान्तिलाई प्राथमिकता दिनुपर्ने, सबै तहका सरकारको कामको सम्मान गर्नुपर्ने र व्यक्तिगत रूपमा सदाचार नीति पालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँहरूले भ्रष्टाचार नगर्ने, नियम पालनमा अनुशासित रहने भन्दै विद्यालय पाठ्यक्रममा पनि नैतिक शिक्षा समावेश गर्नुपर्ने, सुशासन र इमानदारिता प्रवर्द्धन गर्नुपर्ने र सबै तहका सरकारले यसलाई पालन गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठः

प्रतिक्रिया राख्नुहोस्

Back to top button